काठमाण्डौ । चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत निर्णय भएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा जिल्लाका सरोकावालाले सर्वसम्मत निर्णय गरी बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रममा समावेश गर्न सिफारिस गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
बागमती प्रदेशका १३ जिल्ला मध्ये चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला हो ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु यहाँ आउने गर्दछन् ।
नेपाल सरकारको १०० गन्तव्यमा बिस हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचिकृत छन् भने बागमती प्रदेश सरकारको एक जिल्ला एक उत्कृष्ट गन्तव्यमा समावेश मेघौली चितवनमै पर्छ ।
पर्यटन विज्ञ विश्वराज सुवेदीले पर्यटनको राजधानीको लागि प्राकृतिक, साँस्कृतिक, धार्मिक र साहासिक पर्यटकीय गन्तव्यहरु, सहज पहुँच, प्रयाप्त आवास सुविधा, पर्यटक सूचना केन्द्र तथा आवश्यक पूर्वाधारहरु भएकाले पर्यटकीय राजधानी घोषणा गर्न चितवन योग्य रहेको जानकारी दिनुभयो ।
यस्तै चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष प्रकाश ढुङ्गनाले जिल्लाको पर्यटन चितवन राष्ट्रिय निकुञ्जमा आधारित भएकाले यसको संरक्षण एवम् प्रर्वद्धनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर भ्रमण वर्ष २०२४ जस्ता बृहत प्रर्वद्धनात्मक अभियानले समग्र क्षेत्रमा सकारात्मक आर्थिक प्रभाव परेकाले पर्यटनको राजधानी घोषणाले जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ चितवनका कार्यबाहक अध्यक्ष अशोक अधिकारी, रत्ननगर नगरपालिका पर्यटन विज्ञ भेषराज दवाडी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा एक मत रहेको उल्लेख गर्नुभयो ।
पर्यटन विज्ञ सुवेदीका अनुसार चितवनको पर्यटन क्षेत्रमा ५० अर्ब बढी लगानी भईसकेको छ भने ठुला–ठुला पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् ।
यस्तै जिल्लामा १५ हजारको बेड क्षमता रहेको छ भने ६० भन्दा बढी पर्यटकीय गन्तव्यहरु रहेका छन् ।
