Comments Add Comment

वाह ! यस्तो पो कविता ! इन्दिरा दहालका एक जोडी कविता

कविता: एक

नाट्यशाला
 

यो मञ्च उस्तै अनि दृश्य उस्तै
छन् पात्र नौला तर रूप उस्तै
होलान् कि भित्रै चटकी हजार
फेरिन्छ पर्दा किन बारबार?
 

को हुन्छ निर्देशक चिन्न गाह्रो
संवाद नौला अझ बुझ्न साह्रो
छन् नर्तकीका अझ भिन्न चाल
बेग्लै छ बाजा अनि सूर ताल
 

कुर्सी उचाल्दै जब फ्याँक्छ साथी
वार्ता अनौठो अनि हुन्छ राति
बाँडेर थैलो मन हुन्छ साम्य
फेरिन्छ बोली क्षणमै अचम्म ।
 

पर्दा लगाए पछि लाज छैन
देख्दा कसैले अहँ आत्तिँदैन
यो नाट्यशाला अझ प्राण भर्छ
उद्देश्य आफ्नो परिपूर्ण गर्छ ।
 

फुट्ने र जुट्ने निहुँ चाहिँदैन
उम्रिन्छ शङ्का बिउ चाहिँदैन
वल्लो र पल्लो बिचमा छ घेरो
यो नाट्यशाला जहिले अँधेरो।
 

कविता दुई

शून्यभित्र पनि अर्को शून्य हुँदोरहेछ

शून्यभित्र पनि अर्को शून्य हुँदोरहेछ

सङ्ख्या अगाडिको शून्य, अर्थहीन शून्य,

सामर्थ्यहीन शून्य , अस्तित्वहीन शून्य ।

सङ्ख्यापछाडिको शून्य खोज्दै

भौँतारिरहन्छ, सेकेन्ड सेकेन्डमा जीवन ।

 

मैले धेरै कहालीलाग्दा कथा भोगेर

दिमाग शून्य बनाएकी छु ।

जीवन पनि त कथा रहेछ,

कथाभित्रका पात्र पढेर

उनीहरूमै आफूलाई समाहित गर्दा

म , म होइन , ऊजस्तै भएकी छु ।

म , म जस्तै नहुनु पनि त शून्य हुनु हो ।

 

मेरो टाउकोलाई आधार बनाएर

ठडिएकाे छ छेउमै सुन्दर महल

महलभित्र उसैको छाया सल्बलाउँछ

म सल्बलाउन पाउँदिनँ ,

म टाउको घुमाउन पाउँदिनँ ।

चलचित्रका रिलजस्तै घुम्ने व्यवहारमा

 फनफनी घुमेर

खल्ती रित्तो बनाएकी छु ।

रित्तिनु पनि त शून्य हुनुजस्तै हो ।

 

कहिलेकाहीँ त लाग्छ

दन्त्य कथाको वायुपङ्खी घोडा चढेर

म पनि विचरण गरूँ जादुमयी संसारमा

मेरो सपनाको राजकुमारसँगै ।

 

अप्सरा म पनि हुँ, देवी म पनि हुँ, काली म पनि हुँ  ।

तर  जब कल्पनाबाहिर निस्केर उडान भर्छु

म रोकिन्छु कदम कदममा,

म बाँधिन्छु संस्कारहरूमा,

अनि

म पोखिन्छु खाली कागजका पानाहरूमा ,

पोखिनु पनि त शून्य हुनु रहेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ