Comments Add Comment

बुधबारदेखि शिक्षकको सडक आन्दोलन, पहिलो दिन माइतीघर-नयाँबानेश्वरमा धर्ना

 काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घले बुधबारदेखि अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन सञ्चालन गर्ने भएको छ ।

महासङ्घको राष्ट्रिय समितिले मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिइएको हो ।


महासङ्घको राष्ट्रिय समितिले जारी गरेको विज्ञप्ति अनुसार आज बुधबारदेखि हुने तेस्रो चरणको आन्दोलनको पहिलो दिन दिउसो १ बजेदेखि ४ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर खण्डको एभरेस्ट होटेलसम्म धर्ना दिने कार्यक्रम छ । बिहीबारको कार्यक्रम बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म सोही स्थानमा चल्ने महासंघले बताएको छ ।

धर्ना कार्यक्रममा उपस्थितिका लागि महासङ्घले प्रदेशगत हिसाबले स्थान तोकेको छ । त्यसअनुसार बागमती कोशी प्रदेशका शिक्षक माइतीघर मण्डलातिरबाट धर्नामा बस्ने छन् भने लुम्बिनी र गण्डकी प्रदेशका शिक्षक नयाँबानेश्वर एभरेस्ट होटेलतर्फबाट बस्ने योजना छ ।

त्यस्तै, बिच भागमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका शिक्षकहरू धर्नामा रहने छन् ।

आन्दोलनमा सहभागी हुँदा शिक्षक–कर्मचारीका लागि तोकिएको पोसाक र विद्यालयको परिचयपत्र अनिवार्य गरिएको छ । आन्दोलनमा बाहिरी घुसपेठ नहोस् भनेर यस्तो व्यवस्था गरेको बतााइएको छ । 

आन्दोलनलाई सभ्य बनाउन आन्दोलन परिसरमा बोटबिरुवा, दुबो, ट्राफिक डिभाइडर तथा अन्य भौतिक वस्तुको सुरक्षा आफैले गर्ने, आफूले खाएको पानीको बोटल, खाजा खाँदालगायतको फोहर डस्टबिनमा फाल्ने तथा कुनै पनि खालको कागज, प्लास्टिक वा अन्य प्रकारको फोहर नफाल्न सहभागीलाई परिपत्र नै जारी गरिएको छ ।

माघ २० गतेबाट आन्दोलनमा रहेको महासङ्घले पहिलो चरणको आन्दोलनअन्तर्गत पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलन गरेको थियो भने फागुन २४ गते काठमाडौँमा जुलुस तथा विरोध सभा गरेको थियो । त्यसैगरी, दोस्रो चरणको आन्दोलन फागुन २७ गतेबाट चैत ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना, चैत ७ गतेदेखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन बसेको थियो ।

“शिक्षक महासङ्घ र सरकारबिच विगतमा भएका सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य हो” महासङ्घको विज्ञप्तिमा छ– “यो उद्देश्यप्राप्तिका लागि हामीले गर्ने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ ।”

यो आन्दोलन शिक्षक–कर्मचारीको पेसागत मागमुद्दा सम्बोधनसँग मात्र जोडिएको नभएर गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हित र उन्नयनका पक्षमा समेत आवाज मुखरित गरेको महासङ्घको दाबी छ ।

आन्दोलनमा स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी र करार, प्राविधिक, विशेष शिक्षा तथा संस्थागत विद्यालयलगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको सहभागिता रहने महासङ्घले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ