काठमाण्डौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारसँग रहेको बताएका छन्।
बिहीवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले यस्ता गतिविधि सरकारले प्रतिबन्ध लगाउन सक्ने पनि बताए।
राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधन विरोधी काम भएको उल्लेख गर्दै उनले अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, स्थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताए।
आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभइ उदारता भएको र कमजोरी नठान्न उनले चेतावनी दिए। संविधान, जनताविरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने उनले बताए।
