Comments Add Comment

टरिगाउँँ विमानस्थलमा तीन महिनामा पुग्छ हवाइजहाज

तुलसीपुर । विविध कारणले जहाज नियमित हुन नसक्नु टरिगाउँ एयरपोर्टको यथार्थ जस्तै भएको छ । केही समय जहाज आउने र त्यपछि पुनः सेवा बन्द हुने अवस्थाका कारण दाङबासी टरिगाउँ एयरपोर्टको हवाई उडान सेवामा विश्वस्त छैन। टरिगाउँ एयरपोर्टबाट उडान सेवा प्रवाह गरिरहेको नेपाल वायु सेवा निगमको जहाजमा समस्या आउँदा करिब तीन महिना सेवा अवरुद्ध भयो । सोमबारदेखि निगमले पुनः सेवा सञ्चालनमा ल्याएको छ तर निगमले चाहँदा चाहँदै पनि सेवा प्रवाह निरन्तर हुन्छ भन्नेमा विश्वस्त हुने आधार छैन ।

निजी वायु सेवा कम्पनीहरुले सेवा बन्द गरेपछि यो एयरपोर्टमा एक वर्ष अघिदेखि नेपाल वायु सेवा निगमले मात्रै सेवा प्रवाह गर्दै आएको छ । निगमसँग यो एयरपोर्टमा चल्न सक्ने दुईवटा मात्रै जहाज छन् । ती दुबै जहाजको इञ्जिनमा समस्या आएको भन्दै २०८१ पुस २ गते उडान भरेपछि टरिगाउँ एयरपोर्टमा जहाज फर्किएन । त्यसपछि दाङबासीलाई हवाई सेवाका लागि फेरि नेपालगञ्ज वा भैरहवा पुग्नुपर्ने बाध्यता बल्झियो । अहिले निगमको एउटा जहाजको मर्मत कार्य सकिएको छैन । एउटा जहाजको समस्या समाधान भएर सोमबारदेखि सेवा प्रवाह थालेको छ तर उक्त जहाजमा समस्या आएमा अर्को विकल्प के ? ‘सेवा सुचारु भएको छ राम्रै हो तर ढुक्क हुने अवस्था छैन । निगमले सेवा प्रवाहको तालिका सार्वजनिक गरे पनि सेवा प्रवाह भरपर्दो र प्रभावकारी देखिदैन’– तुलसीपुरका व्यवसायी मिलन पोख्रेलले भन्नुभयो– ‘निगमका दुईवटा जहाज छन् । त्यो पनि एउटा मात्रै चालु अवस्थामा छ । प्राविधिक कुरा हो, जतिबेला पनि समस्या आउन सक्छ तर अर्को विकल्प छैन । विकल्प बिनाको सेवा प्रवाह कसरी भरपर्दो हुन्छ ?’

दाङ आउने जहाजमा प्राविधिक समस्या भनिए पनि त्यसको विजनेश हेरेर उडान भर्ने गरेको पाइएको छ । वायु सेवा निगमसँग सीमित जहाज रहेका र निजी सेवा प्रदायकहरुले दाङ भन्दा दुर्गमका जिल्लामा प्राथमिकता दिने हुँदा हवाई सेवा प्रभावकारी बन्न नसकेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको बुझाइ छ । यहाँको हवाई सेवालाई प्रभावकारी बनाउन उवासंघले विगतदेखि नै सेवा प्रदायक संस्थाहरुलाई सहयोग गर्दै आएको बताउँदै उहाँले आगामी दिनमा पनि सहयोग गर्ने र अन्य सेवा प्रदायक संस्थाहरुलाई पनि आकर्षित गर्नेतर्फ संघले आन्तरिकरुपमा काम गरिरहेको बताउनुभयो । ‘नेपाल एयर लायन्सले सेवा प्रवाह गरिरहेको छ, यसलाई प्रवद्र्धन गर्नु हामी सबैको उत्तिकै दायित्व हुन्छ । साथै यत्तिले मात्रै यहाँको सेवा भरपर्दो हुँदैन । हामीले हाम्रो तर्फबाट विकल्प खोजीको प्रयास गरिरहेका छौं’– उहाँले भन्नुभयो– ‘विगतमा पनि सेवा प्रवाह गरेर अन्य निजी एयरलायन्सहरुसँग छलफल गरिरहेका छौं । कम्तिमा हप्तामा तीन दिन जति परपर्दो सेवा प्रवाह हुने खालको वातावरण बनाउने गरी छलफल अगाडि बढाएका छौं ।’

तीन महिनाअघि टरिगाउँ एयरपोर्टबाट उडान भरेको जहाजको इञ्जिनको म्याद सकिएपछि तीन महिनासम्म थन्किएको थियो । सोमबारबाट उक्त नाइन एन एवियु कलसाइन ट्वीनेटरले एकै दिन गुल्मीको साइनरेसुंगा र दाङको टरिगाउँ एयरपोर्टबाट सेवा प्रवाह गरेको नेपाल वायु सेवा निगम कार्यालय तुलसीपुरका प्रमुख बलबहादुर सुनारले बताउनुभयो । ‘हामीले तालिकाअनुसार नियमित नै सेवा प्रवाह गरिरहेका छौं । प्रविधिक समस्याका कारण केही समय सेवा बन्द गर्नुप¥यो । अब नियमित हुन्छ’– उहाँले भन्नुभयो– ‘अहिले एउटा मात्रै जहाज भएकोले तत्काललाई हप्तामा एक दिन सेवा प्रवाह हुन्छ । वैशाखमा अर्को जहाज पनि बन्दैछ । त्यसपछि हप्तामा २÷३ दिन उडान गर्ने तयारीमा छौं ।’

सोमबार काठमाडौंबाट ११ जना यात्रु ल्याएर आएको जहाजले दुईजना मात्रै यात्रु लिएर फर्कियो । अब बिहीबार जहाज आउने तालिका छ तर कम्तिमा छजना यात्रु भएपछि मात्रै जहाज आउने सुनारले बताउनुभयो । त्यसपछि जहाज हप्तामा एक दिन कुन बार आउने भन्ने विषयमा तालिका बन्ने उहाँले जानकारी दिनुभयो । निगमले तुलसीपुरबाट काठमाडौंका लागि सात हजार एक सय रुपैयाँ भाडादर कायम गरेको छ । कम्तिमा छ जना यात्रु भएपछि इन्धन खर्च उठ्छ । अन्यथा घाटामा जाने कार्यालय प्रमुख सुनारले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सोमबार सेवा सुचारु भयो भन्ने जानकारी दिन दुईजना यात्रु हुँदा पनि फ्लाइट ग¥यौं । तीन दिन अघिदेखि जहाजले सोमबारदेखि सेवा प्रवाह गर्ने भनेर प्रचार प्रसार पनि गरेकै थियौं तर दुईजना मात्रै आउनुुभयो ।’ यहाँ चल्ने जहाज १९ सिटे हो तर दूरी लामो भएका कारण बढीमा १६ जनासम्म मात्रै यात्रु राखेर उडान गर्दै आएको जानकारी दिंदै सेवा नियमित हुने तर कम्तिमा छजना यात्रु हुनुपर्ने उहाँले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ