काठमाण्डौ । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (माघ २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले ६० करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। त्यस्तै, ५ प्रतिशत (९० हजार कित्ता) सामूहिक लगानी कोषलाई र ३ प्रतिशत (५४ हजार कित्ता) कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी १४ लाख ७६ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिनेछ।
न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
आईपीओको बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
