काठमाण्डौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित एमालेका नेताहरू चीन लागेका छन्।
पूर्वराष्ट्रपति भण्डारीलाई ग्वान्जाओमा चीनका सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरूले स्वागत गरे। पूर्वराष्ट्रपति नेतृत्वको टोलीलाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ। चीन सरकारले उनलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको नेताहरूले बताएका छन्।
भ्रमण दलमा नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, कर्णबहादुर थापासहितका नेताहरू छन्।
भण्डारीको सम्मानमा चिनियाँ पक्षले आज रात्रिभोज कार्यक्रम आयोजना गरेको छ। उक्त समारोहमा चीनका सरकारी तथा कम्युनिस्ट पार्टीका नेताहरू र अन्य छिमेकी देशका नेताहरू सहभागी हुने भनिएको छ।
भण्डारी बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिको रुपमा सहभागी हुनेछिन्। चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधिबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन्। सोमबार बिहान हुने उक्त कार्यक्रममा उनले मन्तव्य पनि राख्नेछिन्।
मन्त्री भण्डारीले उच्चस्तरीय खुलापन र एसियाको एकीकृत विकास कार्यक्रमबारे मन्तव्य व्यक्त गर्नेछन्। महासेठले रणनीतिक पारस्परिक विश्वास सुदृढीकरणका लागि संवाद र परामर्श शीर्षकमा र थापाले फरक(फरक देशका नागरिकस्तरमा अनुभव आदान(प्रदानलाई विस्तार गर्ने विषयमा मन्तव्य राख्ने कार्यक्रम छ।
यसबाहेक मन्त्री भण्डारीले मंगलबार चाइना काउन्सिल फर दि प्रमोसन अफ इन्टरनेसनल ट्रेड ९सीसीपीआईटी० का नेतासँग भेट्नेछिन्।
