काठमाण्डौ । आजदेखि काठमाडौँ प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडक १६ दिन आंशिक रूपमा बन्द हुने नागढुंगा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले बताएको छ ।आयोजनाले एक सूचना जारी गरी नागढुंगा-नौबिसे खण्डको नागढुंगा–पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधनहरू आवतजावत रोकिने जनाएको हो।
काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिने समेत योजना कार्यालयले जनाएको छ । यस अवधिमा साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुट सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न सम्बन्धितलाई आग्रह गरेको छ।
दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने उक्त समयमा पनि निर्वाध सञ्चालन गर्न दिइने सडक आयोजनाले जनाएको छ।
