काठमाडौं । कवि, गीतकार तथा नियात्राकार सुमन थापा 'सङ्गम' नवीनतम कविता-कृति 'अभ्युदय' लिएर आएकी छन्। शुक्रबार अभ्युदयको लोकार्पण काठमाडौंको पुतलीसडकस्थित ग्रीनलिफ रेस्टुरेन्टमा सम्पन्न भएको हो ।
कवि सुमन थापा 'सङ्गम', उनका ८४ बर्षीय पिता विष्णुवीर थापा, छोरीहरू समिक्षा, प्रशंसा र क्रिशला केसी, तथा नातिनातिनीहरू आरुण्या, आयाङ्श र आभ्याना केसीले संयुक्तरूपमा कृति लोकार्पण गरेका हुन्।
नातिनातिनी त्रय आरुन्या के सी, आयान्स के सी एवम् आभ्याना के सी प्रकाशक रहेको अभ्युदय चार पुस्ता एकै ठाउँमा भेला भएर गरिएको विमोचनले एउटा छुट्टै सन्देश पस्किएको थियो ।
कवि थापाले आफैँले सञ्चालन गरेको कार्यक्रममा उपस्थित महानुभावलाई उनकी छोरी समिक्षा केसीले शब्दमार्फत स्वागत गरेकी थिइन् ।
विमोचन समारोहमा अभ्युदय कवितासंग्रहभित्रबाट केही कविता वाचन पनि गरिएको थियो। कवि रमी प्रिया, विश्व सिग्देल, श्रीबाबु कार्की र प्रोल्लास सिन्धुलीयले अभ्युदयमा सङ्कलित कविताहरू वाचन गरेका हुन् ।
कार्यक्रममा साहित्यकार तथा समालोचक डा शेखरकुमार श्रेष्ठले कृतिबारे समालोचनात्मक टिप्पणी प्रस्तुत गरेका थिए। उनले सङ्ग्रहमा प्रेमका विविध रूपहरू—बाबुआमाप्रति, देशप्रति, जीवनप्रति र प्रकृतिप्रति देखिएको उल्लेख गर्दै कविताहरू सरल, प्रतीकात्मक र भावपूर्ण भएको बताए।
कवि थापाको यसअघि ‘माइतीघरको फूल’ कविता सङ्ग्रह र ‘प्रेमको आदिम गीत’ संयुक्त कविता सङ्ग्रह प्रकाशित छन्। १३६ पृष्ठमा सजिएको अभ्युदयमा ५२ वटा कविता संलग्न छन् ।
