नेपालगञ्ज । अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णराज अधिकारी निर्वाचित भएका छन् ।संघको सोमबार नेपालगन्जमा सम्पन्न प्रथम भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा दिपक न्यौपाने, उपाध्यक्षमा रञ्जित शाह, सचिवमा साबित्री गिरी, सहसचिवमा मन बहादुर सहकारी र कोषाध्यक्षमा भावना बुढा मल्ल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा चन्द्रेश्वर त्रिपाठी, इरफान अली, कुशल बिक र स्वेता गिरी निर्वाचित भएका छन् । १ जना सदस्यलाई कार्यसमितिको बैठकले मनोनित गर्ने जनाएको छ ।
कार्यसमिति चयन अगाडि एआईको प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा अधिवेशन उदघाट्न गरिएको थियो । अनलाइन टिभि पत्रकार संघका केन्द्रीय प्रतिनिधि रोहित लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले यो समय डिजिटल मिडियाको भएकाले अबको दिनमा डिजिटल मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकास लगायतका कार्यक्रमको लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले अनलाइन टिभी मार्फत आउने बिषयबस्तुलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको सुझाव दिए ।
कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले डिजिटल मिडियामा एआईको प्रयोग हुनु राम्रो कुरा भएतापनि पत्रकार सधै सृजनशिल बन्नुपर्ने सुझाव दिए । उनले समाजिक बिषयको उठान गरी विकासमा साझेदारी गर्न अनलाइन टिभीले राम्रो भुमिका निभाउन सक्ने बताए । यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले लुम्बिनी प्रदेशले डिजिटल मिडियामा कार्यरत पत्रकारका लागि तालिम संचालन गरिरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आजको युग डिजिटल पत्रकारिताको युग भएकाले अनलाइन टिभी पत्रकार संघले गरीरहेको कार्यलाई सबै पत्रकार माझ पुराएर पत्रकार आचारसंहिता बारे जानकारी दिन सुरु गरेको यो अभियानको प्रशंसा गरे ।
कार्यक्रममा एआई प्रयोग बारे तालिमको सहजिकरण गरेका अनलाइन टिभी पत्रकार संघका केन्द्रीय अध्यक्ष जीवन भण्डारीले एआईको प्रयोग गरेर पत्रकारिता गरेमा समयको बचत हुनुका साथै पत्रकारको कामको गुणस्तर राम्रो हुने बताए । उनले देशब्यापी रुपमा अनलाइन टिभीमा कार्यरत पत्रकारहरुलाई पत्रकार आचारसंहिता बारे जानकारी गराउदै डिजिटल मिडियाका सामाग्रीहरुलाई थप परिस्कृत बनाउने अभियानमा देशब्यापी दौडाहामा रहेको बताए ।
कार्यक्रममा बाँके, बर्दिया, रुपन्देही, पाल्पा, दाङ लगायत सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अनलाइन टिभिमा कार्यरत ६० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।
