काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाताले आवश्यक पर्ने जनशक्ति नपाएको बताएका छन्। बुधवार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले दुईपक्षलाई जोड्न नसक्दा श्रमिकले काम नपाएको र रोजगारदाताले समेत श्रमिक नपाएको बताए। उनकाअनुसार यही ग्यापलाई सम्बोधन गर्न सरकारले श्रमसञ्चार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको बताए।
उनले हरेक वर्ष ४ लाख जनशक्ति श्रम बजारमा आउने गरेको बताउँदै त्यो शक्ति कति सीपयुक्त हुन्छ भन्ने महत्वपूर्ण हुने बताए। अहिले वैदेशिक रोजगारमा जानेको लहर चले पनि मुलुकभित्रै ठूलो जनशक्तिको आवश्यकता रहेको भण्डारीको भनाई छ। उनकाअनुसार गहना बनाउने ८ लाख, निर्माणमा २० लाख, तयारी पोसाकमा समेत उत्तिकै संख्यामा बाहिरबाट मान्छे काम गर्न नेपालमा आइरहेका छन्।
त्यसका ठाउँमा रिप्लेस गर्न सके पनि नेपालमा धेरै जनाले रोजगारी पाउने स्थिति बन्नेछ। उनले सबै श्रमसम्बन्धी सेवा सूचनासहित सम्पूर्ण जानकारी दिनका लागि श्रमसंसार डिजिटल पोर्टल शुरु गरेको बताउँदै ७५३ ओटा पालिकालाई जोड्ने तयारी भएको बताए। नेपालमा बिना भनसुन जागिर पाइँदैन भन्ने भाष्य सिर्जना भएको भन्दै श्रम सञ्चार पोर्टलले त्यसलाई चिर्न सघाउ पुग्ने बताए। उनकाअनुसार त्यसपछि त्यो पोर्टललाई नागरिक एपसँग जोडिनेछ।
