चट्याङ्हरु आकाशमा उन्मत्त सिँहझैं गर्जिरहेका थिए । एकअर्कामा ठोक्किँदै, कराउँदै थिए। आकाशको क्यानभासमा बादलका चित्रहरु डरलाग्दा देखिएका थिए । केही बेरको लागि वर्षा थामिएकी थिई । सायद केही क्षणका लागि मात्र । ऊ भनिरहेकी थिई,“सबै कुरा तिमीमा मात्र झर्दैछन् भन्ने भ्रम नगर, पृथ्वी। ”
म एक कुनामा बसेर त्यो संवाद सुन्दै थिएँ । र सोचिरहेकी थिए, “किन यस्तो भइरहेको छ आज ?” यो घनघोर गर्जन, यो अविरल वर्षाको प्रतीक्षा, अनि यो अन्तर्मनको हलचल । के यो प्राकृतिक अशान्ति होइन ? कि यो भित्र कतै गुम्सिएको मेरो आफ्नै मौनता हो । जो आज चट्याङ्जस्तै गर्जन खोज्दै छ ?
म भित्र कतै एक अशान्ति गुँड बनाएर बसिरहेको थियो । आवाजविहीन, तर बलियो बनेर। त्यो अशान्तिले मेरो नशा–नशामा डरको सुस्केरा हाल्दै थियो। म त्यसबाट उम्किन चाहन्थेँ । भाग्न चाहान्थेँ र विस्मृतिमा हराउन चाहान्थेँ।
त्यही छटपटीले मुन्तिर राखिएको मोवाईलतर्फ मेरो नजर गयो। त्यो साधारण वस्तु थिएन, त्यो मेरो लागि एउटा ढोका थियो । एक यथार्थबाट अर्को आयाममा पुग्ने सिँढी। म त्यो सिँढी फटाफट उक्लिएँ । एक एक क्लिक, अनि म हराएँ।
त्यो दुनियाँ, मलाई वर्षौँदेखि चिने झैँ लाग्थ्यो। भर्चुअल भइकन पनि त्यहाँ केही थियो । जसले मलाई वास्तविक जीवनभन्दा धेरै अपनत्व दिन्थ्यो। न त मलाई त्यहाँ छिर्दा पासपोर्ट चाहिन्थ्यो । न त कसैको अनुमति। म आफैलाई बिर्सेर आफैभित्र प्रवेश गर्न सक्थेँ। त्यो भर्चुअल आयाम मेरो लागि शरणस्थल झै बनिसकेको थियो। त्यहाँ न समयले बाँध्थ्यो, न सासले थकाउँथ्यो। आँखा झिम्क्याउन नपाउँदै फेरि लाग्थ्यो, “वाऊ १ कति अद्भुत छ यो दुनियाँ । आहा १ कति चुपचाप रमाइलो छ ।”तर म जान्दथेँ, त्यो रमाइलो केवल वास्थविक दुनियाँ बाट भाग्ने बहाना थियो।
अचानक टिकटक खोलेँ । एउटा भिडियो आफैं खुलेर आयो। पर्दामा देखिए—केही बालबालिका, चिच्याउँदै भागिरहेका, रुँदै लम्पसार परिरहेका। म एकछिन जस्ताको तस्तै अडिएँ। मुटु बेस्सरी धड्किन थाल्यो। त्यहाँ थिए—झोलिएका भवनहरू, च्यातिएका पर्खालहरू, धूलोमा बिलाएका सपना। बालबालिकाहरूका ती निसास्सिएका चिच्याहटहरूले आकाश चिरिरहेको थियो। एक जना सानी केटी हातमा रित्तो डेक्ची जस्तो भाँडो बोकेर भुइँमा ढलेकी थिई । रगतले उसको शरीर रङ्गिएको थियो।
म सोच्न थालेँ—के म कुनै दुःस्वप्नमा छु ? तर, हो, त्यो सपना थिएन। त्यो त कठोर यथार्थ थियो । हाम्रै यो नीलो ग्रहको एक कुनामा, म जस्तै सास फेर्ने, आशा गर्ने, सपना देख्ने मानिसहरूले भोगिरहेको पीडाको घडी थियो त्यो। संसारको अर्को छेउमा, एउटा मोबाइल स्क्रीनबाट बगिरहेको थियो— मानवताको चीत्कार, बालापनको बर्बादी, र युद्धको कुरूप अनुहार। के म केही गर्न सक्थेँ ? सायद सक्दिन थिएँ। तर त्यो क्षण, मेरो मौनता पनि अपराधजस्तै लाग्यो। के यस्तो समयहरूमा आँखा चिम्लेर बाँच्न पाइन्छ ? कि पीडालाई देखेर मुटु भिजाउनुपर्छ—कम्तिमा त मानव भएर ।
भीडको कोलाहलबीच, एउटा सानो नानीको उपस्थिति अनायासै मेरो सम्पूर्ण हेराइको केन्द्र बिन्दु बन्यो। मानौँ, संसारभरको सबै आवाज मूक भएर, केवल उनको आँखाको मौनतामा गुञ्जीरहेको छ । उनको ओठ थर्थराइरहेका थिए । बोल्न खोजेर पनि शब्दहरू भित्रै कतै चुँडिएर हराइसकेका थिए । तर ती आँखाले धेरै कुरा बोलिरहेका थिए। ती आँखाले चिच्याएर भनेका थिए,“हामीलाई बाँच्न देऊ १” त्यस भित्र थियो एक युगको आर्तनाद स्वर । जसले पथ्थारलाई पनि पगाल्न सक्थ्यो।
मेरो औँला पटक–पटक स्क्रोल गर्न थालेको थियो । सायद एक असहज बेचैनीले । सायद त्यो एक दृश्यबाट उम्कन खोजिरहेको मगजले। तर स्क्रिनले फेरि अर्को घाउ देखायो । भत्किएको स्कुलको भग्नावशेषमुनि हराएका किताबहरू। त्यहाँ एक सानो बालक टाउको निहुराएर केही खोजिरहेका थिए। उनले एउटा पुरानो किताब समातेका थिए । मानौ उनी चाहान्छन् कोही आफ्ना सपनाहरू टुट्न नदिई थामेर राखौँ। अनुहार धुलोले ढाकिएको थियो । तर त्यही धुलोभित्र पनि चम्किरहेका थिए केही अडिग सपना। आँखामा थकाइ थिएन, केवल एक प्रकारको बलियो चाहना थियो—बाँच्ने र पढ्ने।
तर शरीर । त्यो सानो शरीर काँपिरहेको थियो। हातहरू अस्थिर, खुट्टाले उभिन खोजिरहेका थिए । उनले टेकेको धरातल नै भत्किएको थियो। त्यहीबेला कसैले, एक आत्मीय आवाजले उनलाई सोधेको थियो, “के चाहिन्छ तिमीलाई रु” बालकले रुँदै भनेका थिए, “आमा।।अनि खाना।” त्यो उत्तर १ त्यो उत्तर एक कालजयी कविताजस्तै लाग्यो मलाई। जुन दुःखमा पनि प्रेमले लेखिएको थियो। जहाँ आवश्यकता केवल भोक मेटाउने मात्र थिएन । माया पाउने, आमाको अँगालोमा अडिने, अनि जीवित अनुभव गर्ने थियो। ती बालकको स्वर आज पनि मेरो स्क्रिनमा मात्र होइन—मेरो मनभित्र गुञ्जिरहेको छ। एक निश्चल आवाज, जो हामी सबैलाई प्रश्न गरिरहेछ । के हामी साँच्चै सुन्दैछौं त ?
एकाएक म चिच्याएँ, “म हेर्न सक्दिन यो संसार ।” तर एक विडम्बना थियो—फोनको स्क्रिन फेरि मेरो नजरले आफैंतिर तान्यो। मानौं त्यो पीडा मबाट टाढा जानै सक्दैनथ्यो। म त्यही पीडाको साक्षी बन्न बाध्य थिएँ। पेलिस्टीनको आकाशमा बारुदका मुस्लाहरू नाचिरहेका थिए । धुवाँका कालो लप्काले आकासलाई ढाकेको थियो। मान्छेहरु डरका छायासँग दौडिरहेका थिए । कोही कोही एक अर्काको हात समातेर । कोही एक्लै, बिलखबन्द अवस्थामा। मानौं उनीहरूको जन्म नै युद्धको मैदानमा भएको हो । जहाँ गीतहरू छैनन्, लोरीहरू छैनन्, केवल ड्याङ् ड्याङ् गर्ने बमको आवाजहरु छन्। मेरो सास एक क्षणको लागि रोकियो। किन ? कसको दोष हो ? किन ती नानीहरूले आफ्ना बाल्यकाल बारुदसँग साट्नुपर्यो ? यी प्रश्नहरू गुञ्जिरहेका थिए मनभित्र, उत्तरविहीन भएर ।
मलाई कारण थाहा थिएन। तर यति बुझ्थेँ—जुन कुरा भइरहेको थियो, त्यो सह्य थिएन। त्यहाँ मानवता थिएन। म एक असहाय दर्शक जस्तो थिएँ । जसले केही गर्न सक्दैन, तर चुप पनि बस्न सक्दैन। सायद, कलम नै मेरो प्रतिकार हो। म लेख्दै छु—कसैले नबुझे पनि, कसैले नसुने पनि। म तिनीहरूको पीडा बोकेर, शब्दहरूमा केही आवाज बनाइरहेकी छु। त्यो आवाज । जुन न बन्दुक हो, न नाराजुलुस । एक अनवरत धड्कन जसमा ती निर्दोष आँखा बाँचिरहेका छन्।
लाग्छ—म त्यो भग्न पर्खालको छेउमै उभिएको छु। जहाँ समय रोकिएको छ—एक च्यातिएको किताबको पानामा । एउटा टुटेको चित्रमा । अनि भत्किएको झ्यालबाट झुल्केको सानो आशाको झिल्कोमा। फोनको स्क्रिन, अझैपनि मलाई घुरिरहेको थियो । रिसाएको, धिक्कारेको जस्तो। भीड छ—त्रासदीको भीड। बम छन्—शब्दले बयान गर्न नपुगेका विस्फोटहरू छन्। रुवाइ छ—बोल्न नसकेका बालबालिकाहरूको, जसको आँशु पनि आवाजविहीन हुँदै गएका छन्। भग्न भवनहरू तिनका थातथलो थिए । अब तिनै भवनहरू तिनको मृत्युशय्या बनेका छन्।
एकछिनपछि मैले आफूलाई सम्हाल्न खोजेँ । फेरि फोन खोलेँ । च्याट बक्स खुलाएँ । त्यहाँ ऊ थियो—आदी । ऊ पाकिस्तानी हो । हाम्रो चिनाजानी त भर्खरैको हो—केवल केही सन्देश आदान–प्रदानको सम्बन्ध । तर आज, मेरो मनको भारी ऊसँग बाँड्नै पर्छ जस्तो लाग्यो । म टाइप गर्दै थिएँ,“आदी । ” “आज मलाई साँच्चै गाह्रो भएको छ । त्यो प्यालेष्टीन र ईजरायलको युद्ध । त्यो बम र त्यो बच्चाको रुवाइ देखेर ।” केही सेकेन्डमै ऊ अनलाइन आयो र लेख्यो । शब्दहरू थोरै तर भावना गहिरा थिए । ऊ भनिरहेको थियो, “मैं समझता हूँ, बहन। हर संवेदनशील दिल इस दर्द को महसूस करता है। लेकिन याद रखो, ये जंग आज की नहीं है। ये तो सदियों पुराना ज़ख्म है।”
मैले टाइप गरेँ, “तर युद्धको विकल्प पनि होला नी, आदी ? आखिर किन कसैले शान्तिको प्रयास गरेन रु संयुक्त राष्ट्रसँघले किन पहल गरेन ?” त्यो बेला म अलि बढी नै भावनामा डुबेकी थिएँ । फोन समातिरहेको मेरो औँलाले टाइप गर्न छाडिसकेको थियो । म केवल सास भर्न खोज्दै थिएँ । त्यसपछि आदीको लामो सन्देश आयो, “बहन, शांति की खोज में बहुत से लोग लगे हैं, लेकिन जब घाव पुराने होते हैं, समाधान सरल नहीं होता। सत्ता का खेल, इतिहास का बोझ और निर्दोष नागरिकों का दर्द—इन सबका मिलाजुला एक जटिल ताना–बाना बन गया है। इस टूटे हुए संसार में, सही विकल्प ढूंढना आसान काम नहीं है। लेकिन इसके बीच भी, कुछ लोग हैं। तुम जैसे। जो इस पीड़ा को समझ सकते हैं। जो आवाज़ उठाते हैं, जो कलम की ताकत को समझते हैं।” उसको शब्दहरूमा एउटा हृदयस्पर्शी सफलता र सम्भावनाको सङ्गम थियो।
आदीका शब्दहरू फोनको स्क्रिनमा उज्याला देखिएका थिए । त्यो उज्यालोले मलाई साच्चिकै समेटेको जस्तो लागिरहेको थियो। त्यस्तो लाग्थ्यो, उसले आफ्नो अञ्जुली मेरी छेउमा राखेर मसँग कुरा गर्दैछ। मैले ती शब्दहरूको भावनामा गहिरो आत्मियता महसुस गर्दै सोधेँ, “तिम्रो देश पनि त भारतसँग युद्धमा जान खोज्दै थियो, हैन र रु के गर्यौ तिमीहरूले रु कसरी रोक्यौ त्यो भयङ्कर सम्भावित नरसंहार ?”
उसको सन्देश आयो, “हाँ, आस्था १ हमारे देश ने भी बहुत युद्ध देखे हैं। लेकिन हमने कथित राष्ट्रीयता की छोटी सी अहंकार को त्यागकर, मानवता के पक्ष में अपनी आवाज उठाना कभी नहीं छोड़ा। हम सड़क पर उतरे, कविता लिखी, गीत गाए। शांति के पक्ष में हमारा छोटा सा शोर, कभी कभी गोली की आवाज से भी ज्यादा प्रभावी हो सकता है।”
उसले लेखेका प्रत्येक शब्दहरु ध्यान दिएर पढेँ । अनि मैले पनि उसकै बाषामा लेखेँ, “लेकिन आदी, गाजासे उस आवाज़ का कभी आना होगा ”उसको उत्तर आयो, “जब एक आस्था लिखती है, बोलती है और रुकती नहीं—तभी से वह शुरू होता है। हमने इतिहास की गलतियों को झेला है। हमें उन्हें दोहराना नहीं चाहिए। हमें हाथ में हाथ डालकर चलना होगा, प्रेम की सीमाएं पार करनी होंगी ।”
त्यो सन्देश पढेपछि, म केही बेर चुप लागेँ। मनका गहिराइहरूमा अनगिन्ती विचारहरू हल्लिरहेका थिए। फेरि, मनमनै भनेँ, “शायद कलम युद्ध रोक्न सक्दैन, तर कलमले मान्छे बिउँझाउन सक्छ। र बिउँझेका मान्छेहरूले युद्ध रोक्न सक्छन्।” मैले कापी खोलेर लेख्न सुरु गरें। “हामी युद्ध चाह्दैनौँ। हामी बालबालिकाको हाँसो चाहन्छौँ। हामी आकाशमा बारुद होइन, प्रेमका फूलहरु फुलेका हेर्न चाहन्छौँ।”
उसले भिडियो कलमा भनेको थियो, “तुम कितनी संवेदनशील हो। तुम्हें रोते देख मुझे अपनी बहन का दर्द याद आता है। लेकिन आज तुम जितनी पीड़ित हो, गाजा के वे बच्चे उससे सौ गुना ज्यादा दबे हुए हैं।” उसको स्वर सान्त र संयमित थियो, तर भावनाले ओतप्रोत। सास फेरेर उनले भने, “देखो न, हम नई पीढ़ी हैं, है न ? हमारा गुस्सा पुराने लोगों की तरह बंदूकें लेकर नहीं, प्रेम लेकर व्यक्त होता है। हमारी क्रांति शब्दों में है, और हमारा हथियार संवेदना है। हमने युद्ध देखा है, लेकिन हमने शांति का सपना भी देखा है। हम हारेंगे नहीं—क्योंकि हम बंदूक नहीं, प्रेम चुनते हैं।”
आजको पुस्ता—प्रेममा हुर्किएको पुस्ता हो। हामीले धेरै खालका युद्ध हेरेका छौं । तर अब हामी त्यो रोक्न पनि तयार छौं। आज म यो कथा लेख्दै दुनियाँभरका शान्ति चाहने मनहरूलाई आह्वान गर्छु—हामी सबै मिलेर जुनसुकै खाले युद्ध पनि रोक्न सक्छौं। हामी प्रेम चाहन्छौं, बारुद होइन। बम होइन चरा उडेको हेर्न चाहान्छौँ ।
भिडियो कलमा आदी शान्त मुस्कानसहित टाउको हल्लाउँदै चुप बस्यो र फेरि उसले अन्तिममा भन्यो, “करने से क्या नहीं हो सकता, अगर बस थोड़ी सी समझदारी की कमी रह जाती। अगर हमने बुद्धिमानी से काम न किया होता, तो आज भारत और पाकिस्तान की हालत भी फिलिस्तीन और इज़राइल, यूक्रेन और रूस जैसी हो जाती। देखो, अब शब्दों को शांति की आवाज़ बनाना होगा, बहन। ऐसे नहीं जो युद्ध को भड़काएं, बल्कि ऐसे जो युद्ध को रोकें। तुम लिखो, मैं सुनाऊँ। तुम पुकारो, मैं दोहराऊँ। जब तक दुनिया तक हमारी आवाज़ न पहुँचे, हम रुकेंगे नहीं ।”
हो हामी रोकिने छैनौ । लेख्ने छौँ र लेखिरहने छौँ । आवाज विहिनहरुको आवाज बनिरहने छौँ ।
