काठमाण्डौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म वामपन्थी गठबन्धन नहुने बताएका छन्। प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वामपन्थी गठबन्धन ०८४ सम्म नहुने जिकिर गरेका हुन्।
उनले कांग्रेस(माओवादी केन्द्र)बीच सत्ता समीकरणको हल्ला मात्रै भएको स्पष्ट पारे। अध्यक्ष प्रचण्डले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाए। सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको उनको जिकिर छ।
अध्यक्ष प्रचण्डले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको बताए। आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको उनले बताए।
