काठमाडौं । कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापित ‘सेन स्मृती पत्रकारिता पुरस्कार २०८२’ पत्रकार एवम् लेखक नरेन्द्रजंग पिटरलाई दिइने भएको छ। कवि एवम् पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार, बामपन्थी लेखक एवम् बिश्लेषक पिटरलाई पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।
लेखक पिटरले १० वर्षे जनयुद्धको समयमा नेपालका विकट तथा दुर्गम क्षेत्रमा पुगेर नागरिकका विचमा माओवादी बिचार र आन्दोलनलाई बिचारमार्फत महत्वपुर्ण योगदान पुर्याएका थिए ।
कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।
यस्तै ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार २०८२’ पत्रकार रुवी श्रेष्ठलाई दिइने भएको छ । प्रेस सेन्टर नेपालकी निवर्तमान उपाध्यक्ष श्रेष्ठ लामो समयदेखि रेडियो नेपालमा कार्यरत छिन् । उनीसँग जनयुद्धको बेलामा युद्ध रेडियो पत्रकारका रुपमा काम गरेको अनुभव छ ।
यस पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।
यस्तै पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापित ‘ २०८२’ पत्रकार मणि विश्वकर्मालाई दिइने प्रेस सेन्टर नेपालले बताएको छ । नयाँ पत्रिकाका सिराहा सम्बाददाता विश्वकर्मा लामो समयदेखि पत्रकारितामा सकृय छन् । उनी प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय सदस्य हुन् ।
शक्ति तारा स्मृति पत्रकारिता पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको सेन्टरले प्रष्ट गरेको छ।
माघ १५ गतेका दिन प्रेस सेन्टर नेपाल स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने अध्यक्ष कमल गिरीले जानकारी दिए । हरेक वर्ष कृष्ण सेन स्मृति दिवसका अवसरमा पुरस्कार घोषणा गरेर प्रेस सेन्टर नेपालको स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको अध्यक्ष गिरीले बताए ।
