Comments Add Comment

जगदुल्ला हाइड्रोपावरसित माग्यो उच्च अदालतले ठेक्कासम्बन्धी कागजात

काठमाण्डौ । उच्च अदालत पाटनले जगदुल्ला जलविद्युत् आयोजनासित ठेक्कासम्बन्धी सक्कल फाइल मागेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र प्रकाश खरेलको मंगलबारको इजलासले जगदुल्ला हाइड्रोपावरलाई ठेक्काको बोलपत्र मूल्यांकनसम्बन्धी सक्कल फाइल इजलासमा पेश गर्न आदेश गरेको हो ।

डोल्पामा निर्माण हुने १०६ मेगावाट क्षमताको जगदुल्ला हाइड्रोपावरविरुद्ध परेको रिटमा आदेश गर्दै उच्च अदालत पाटनले सक्कल फाइल खोजेको हो । ‘बोलपत्र बमोजिमको खरिद प्रक्रियासम्बन्धी मूल्यांकन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल पेसीको दिन देखाई फिर्ता लैजाने गरी आगामी शुक्रबारको पेसी तोकिएको,’ आदेशमा उल्लेख छ । हाइड्रोपावरविरुद्ध परेको मुद्दाको अर्को पेसी जेठ २ मा तोकिएको छ ।

सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले वैशाख २२ मा जगदुल्ला हाइड्रोपावरविरुद्ध रिट दर्ता गरेको हो । न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले वैशाख २३ मा जगदुल्ला हाइड्रोपावर कम्पनीविरुद्ध कारण देखाऊ आदेश जारी गरेको थियो ।

जगदुल्ला हाइड्रोपावर कम्पनी र कम्पनीको बोलपत्र मूल्यांकन समितिविरुद्ध दायर रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत अदालतले आदेश दिएको थियो । आफ्नो कम्पनीको प्राविधिक प्रस्तावलाई जगदुल्ला कम्पनीकको मूल्यांकन समितिले अयोग्य ठहर गर्नु सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६१, ६२ को विपरित भएको निवेदक सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले दाबी गरेका छन् । आर्थिक प्रस्तावमा बोलपत्रदाताहरूबाट कबोल गरिएको रकम प्राविधिक प्रस्तावको मूल्यांकनकै क्रममा सार्वजनिक जानकारी हुनुले सम्पूर्ण खरिद प्रक्रिया नै औचित्यहीन भएकोले प्राविधिक प्रस्ताव मूल्यांकन र त्यसकै आधारमा आर्थिक प्रस्ताव खोल्नका लागि जारी गरिएको सूचना बदर गर्न र सम्पूर्ण खरिद प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ ।

जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी र सिनो हाइड्रो कर्पोरेसन योग्य रहेको भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले वैशाख २४ मा आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो । जगदुल्ला कम्पनीले वैशाख २४ मा खोलेको आर्थिक प्रस्तावबाट सबैभन्दा कम मूल्य कबोल गरेपछि ठेक्का जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीले पाउने भएका हुन् ।

कम्पनीसम्बद्ध स्रोतका अनुसार सिनो हाइड्रोले मूल्य अभिवृद्धि कर (भ्याट) सहित १५ अर्ब ७ करोड रुपैयाँ र जियाङ्सी र एएनकेले १३ अर्ब ७३ करोड रुपैयाँ रकम कबोल गरेका थिए । माघ ६ मा दोस्रो पटक आयोजनाले बोलपत्र आहृवान गरेको थियो  । यसअघि २०८१ जेठ २० मा सिभिल र हाइड्रो मेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) तर्फ आहृवान गरेको ठेक्का प्रक्रिया विवादमा परेपछि रद्द भएको थियो ।

ठेक्काका लागि हाई हिमालयन हाइड्रो र एजीई कम्पनीे जेभी, शर्मा र झोङदिङ इन्टरनेसनल जेभी, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन जेभी, रामेछाप शेर्पा कन्स्ट्रक्सन र सोमा इन्टरप्राइजेज जेभी, सिनो हाइड्रो, ओम इन्फ्रा र फेवा कन्स्ट्रक्सन जेभी गरी सात कम्पनीले आवेदन दिएका थिए ।

प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि गत पुस २२ मा ठेक्का रद्द गरिएको जगदुल्ला कम्पनीको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ