काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका हुन्।
‘वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरेर डिल्लीबजार पुर्याइयो । जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो, त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीले भोलिको बैठकमा जवाफ दिनु भएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’ चौधरीले भने ।
त्यस्तै रास्वपा सांसद शिव नेपालीले पनि रेशम पक्राउ प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरे। यसैगरी स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेसमेत रेशम पक्राउ प्रकरण रहस्यमय भएको बताए ।
