Comments Add Comment

आजदेखि शैक्षिक हडताल शैक्षिक संस्था ठप्प, प्रधानमन्त्रीसित मात्र वार्ता

काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनलाई सशक्त बनाउने क्रममा सोमबारदेखि देशव्यापी शैक्षिक आम हडतालको घोषणा गरेको छ। हिजो आइतबार सोमबारबाट शैक्षिक हडतालको घोषणा गरिएको थियो। 

महासंघले शिक्षा ऐन माग गर्दै काठमाडौँमा गरेको विशाल आन्दोलनको आज छैटौँ दिन पुगेको छ। महासंघले विगतका सहमति एवम् सम्झौता समेटेर शिक्षा ऐन जारी गर्न माग गर्दै माघ २० गतेदेखि आन्दोलन विभिन्न चरण पूरा गर्दै आन्दोलन काठमाडौँमा केन्द्रित भएको हो।

महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार काठमाडौँमा जारी शैक्षिक सडक आन्दोलनलाई अन्तिम र निर्णायक भनिएको छ। जारी विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो।’

महासंघले सबै शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई काठमाडौँमा जारी आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको छ। साथै, हडताल अवधिभर उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार, शैक्षिक भ्रमणजस्ता गतिविधिमा सहभागी नहुन पनि आव्हान गरेको छ।

महासंघले आन्दोलनप्रति ऐक्यबद्धता जनाउनका लागि विद्यार्थी, अभिभावक, विश्वविद्यालय, शिक्षा क्षेत्रमा क्रियाशील संघसंस्थाहरू र अन्य सरोकारवाला पक्षसँग अपिल गरेको छ। अध्यक्ष सुवेदीले आन्दोलनमा नआउने शिक्षक कर्मचारीलाई आग्रह गर्दै यो निर्णायक आन्दोलनमा जुनसुकै हालतमा पनि उपस्थित हुन अनुरोध गरेका छन्।

उनले काठमाडौँ नआएको शिक्षक र कर्मचारीलाई पनि भने, ‘अब त स्कुल सबै बन्द भए, अब काठमाडौँ आउन कुनै बाधा छैन। हामी तपाईंलाई पर्खिरहेका छौं। तपाईंलाई काठमाडौँमा भेटेर सँगै जुलुसमा जान र नारा लगाउन मन छ। के हामीलाई त्यो अवसर प्राप्त होलारु’

सरकारलाई थप दबाब दिन आन्दोलनरत शिक्षक कर्मचारीहरूले आइतबार सिठ्ठी जुलुस निकालेका थिए भने आज कालो मास्क लगाएर मौन जुलुस निकाल्ने तयारीमा छन्।
आफना मागहरुको सम्वन्धमा नेपाल शिक्षक महासंघले प्रधानमन्त्रीसित मात्र वार्ता गर्ने जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ