Comments Add Comment

सम्पादकलाई ज्ञापन पत्र (कविता)

सम्पादक ज्यू !
तिम्रो पत्रिकामा 
साहित्यिक कूनाको चारईन्ची जग्गा 
मिल्छभने मलाई पनि देउ भाडामा 
त्यो ठाउँमा मैले पनि 
सँधै आफूलाई मन परेको एउटा कविता छाप्न चाहन्छु ।

तिम्रो पत्रिकाको साहित्यिक कुनामा 
किन बसिरहन्छन् उनै खानदानी कविलेखकहरु 
किन प्रकाशित भइरहन्छ सँधै उही नाम, उही फोटो ?
‘मुखियाबा’को सयमूरे विर्ताजस्तो 
कति असहिष्णु र असमावेशी छ सम्पादक ज्यू 
तिम्रो पत्रिका !
तिमीले किन छिर्न दिएनौं त्यो साहित्यिक फूलावारीभित्र
मेरो कविताको गन्ध,
मेरो भावनामा किन तेर्सायौ तिमीले 
सँधै अस्वीकारको काँडाघारी

सम्पादक ज्यू,मैले त सोेच्थेँ 
‘तिम्रो पत्रिकामा हुँदैन कुनै वर्गभेद
जातिभेद र लिङ्गभेदभन्दा धेरै फराकिलो छ तिम्रो छाती
र रामशाहको न्यायजस्तो 
सबैप्रति समान छ तिम्रो दृष्टिकोण 
सबै फूलहरु फूल्न
सबै वृक्षहरु फल्न 
सबै रङ जगमगाउन
र सबै सुगन्ध मग्मगाउन
तिमीले बनाएका हौ सुन्दर स्वतन्त्रताको साहित्यिक वगान ।’ 

तर बिडम्वना सम्पादक ज्यू !
त्यो तिम्रो पत्रिकाको साहित्यिक कूनाबाट
प्रत्येक दिन प्रकाशित हुने कवितामा पङ्तीहरू 
मैले पनि पढिरहेको छु निरन्तर 
र हेरिरहेको छु 
तिमीले छाप्ने साहित्यका धेरै स्तम्भहरु ।
तर बर्षौदेखि त्यही कुनाका लागि 
दूर गाउँकी एउटी बाख्रा गोठाल्नीले 
आफ्नो पल्टनको लाहूरे पतिलाई लेखेको प्रेमपत्रजस्तो 
मोफसलको एक कुनाबाट 
तिम्रो नाममा मैले पनि त पठाएको छु निरन्तर 
आफ्नो अभागी कविता ।
तर सँधै अस्वीकृत भइरहेको छ,सम्पादक ज्यू 
तिम्रो पत्रिकामा मेरो कविताको शीर्षक !

यतिखेर
मेरा थुप्रै प्रश्नहरु छन् तिमीसँग
तिमीले झर्को नमानी उत्तर देउ सम्पादक ज्यू
तिम्रो पत्रिकामा 
मेरो कविता छाप्न कति चाहिन्छ मेरो शैक्षिक योग्यता 
अर्थात सेनामा भर्ती हुने सैनिक गल्लाजस्तो
कति ईन्च चाहिन्छ मेरो छाती र उचाई 
अथवा मलाई त्यो पनि भनिदेउ
कस्तो हुनुपर्छ मेरो अनुहारको रङ ? 

त्यसैले 
अब मलाई अवीकृत गरेरै कति पठाइरहन्छौ सम्पादक ज्यू 
बजारमा तिम्रो पत्रिका 
मलाई निःशंकोच भनिदेउ 
तिम्रो पत्रिकाको स्थायी मूल्य ।
कृपया त्यो पत्रिकाको 
साहित्यिक कूनामा चारईन्ची जग्गा 
मलाई पनि देउ भाडामा 
त्यो ठाउँमा मैले पनि 
सँधै आफूलाई मन परेको एउटा कविता छाप्न चाहन्छु । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ