Comments Add Comment

लोसपा महासचिव मिश्रले स्थापना गरे ‘सहिद सन्तति वृत्ति कोष’ 

काठमाण्डौं। ‘सुदृढ तथा शिक्षित समाज निर्माणमा हातेमालो गरौँ’ भन्ने मूल नारासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव मनिष मिश्रले ‘सहिद सन्तति वृत्ति कोष’ स्थापना गरेका छन् ।

लोसपाका प्रवक्ता समेत रहेका महासचिव मिश्रले आफ्नो जन्मदिनको उपलक्ष्यमा बुधवार सो कोष घोषणा गरेका हुन् । उनले सो कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेका छन् । 

मधेस आन्दोलनका सहिदहरूका सन्तानहरूको शैक्षिक अवसरमा सहयोग पुर्याउने उद्देश्यले सो कोषको घोषणा गरेको बताउँदै उनले सो कोषका लागि आफूले ५१ हजार रुपैयाँ प्रारम्भिक योगदानसहित अभियानको सुरुवात गरेको बताए । 

सो कोष मधेस आन्दोलनमा सहादत प्राप्त वीर परिवारका बालबालिकाहरूको शैक्षिक उत्थान र सामाजिक समावेशीकरणमा केन्द्रित हुनेछ । कोष कानुनी परामर्शमा आधारित विशेष कार्यदलद्वारा पारदर्शी रूपमा सञ्चालित गरिने उनले बताए । 

‘सहिद परिवारको साथ, सम्पूर्ण समाज’ भन्ने नारासहित अघि बढाइएको यो अभियानमा अन्य शुभेच्छुक, पार्टी सदस्यहरू र सामाजिक अभियन्ताहरूको सहयोग र सहकार्य अपेक्षा गरिएको महासचिव मिश्रले उल्लेख गरेका छन् ।

सहिदहरूको सम्मानमा समर्पित यो अभियानमार्फत आफूले शिक्षा र समान अवसरलाई सामाजिक न्यायसँग जोड्ने लक्ष्य लिएको उनले बताए । उनले सो कोषमा योगदान गर्न पार्टीका नेता, कार्यकर्ता तथा हरेक क्षेत्रका सर्वसाधारणलाई आग्रह पनि गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ