Comments Add Comment

'पिएनओको मुद्दा सम्बोधन गर्न नेपाल सरकार प्रतिवद्ध'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घको पिएनओ केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, “गैर–आवासीय नेपाली सङ्घ मात्र नभई नेपाल सरकार पनि यस विषयमा प्रतिबद्ध छ ।”  दोस्रो विश्वयुद्धपछि विभिन्न कारणले विभिन्न देशमा गएर बसोवास गरेका नेपालीको विषयमा सरकार सचेत रहेको ओलीको भनाइ छ । उनले भने, “गैर–आवासीय नेपालीको अवस्था विभिन्न प्रकारका हुन्छन्, केही स्थायी रूपमा विदेशमा छन् भने केही अस्थायी रूपमा पेसा वा व्यवसायमा संलग्न छन् । यस परिप्रेक्ष्यमा, के कस्ता नीति लिनुपर्छ, सरकारले के कस्ता अपेक्षा राख्न सक्छ, गैर–आवासीय नेपालीहरूले के कस्ता योगदान दिन सक्छन् र नेपालले उनीहरूबाट के कस्ता अपेक्षा गर्न सक्छ भन्ने विषयमा सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्ने विश्वास लिएको छु ।’

सम्मेलनले गैर–आवासीय नेपालीहरूलाई आफ्नो पैत्रिक थलो पत्ता लगाउन मद्दत गर्ने प्रधानमन्त्री ओलीको बुझाइ छ । विशेषगरी कम्बोडिया, म्यानमार, थाइल्यान्ड, मलेसियाजस्ता देशहरूमा रहेका नेपालीहरूको मूल थलो पत्ता लगाउन कठिन भइरहेको छ, तर यो सम्मेलनले त्यस क्षेत्रमा पनि योगदान दिनेछ भन्ने मलाई विश्वास छ । गैर–आवासीय नेपाली सङ्घ मात्र नभई नेपाल सरकार पनि यस विषयमा प्रतिबद्ध छ ।”

नेपाल सरकारको उच्च तहबाट प्रतिनिधित्व हुनुले पनि यस विषयमा सरकारको चासो र रुचि पुष्टि भएको  उल्लेख गर्दै ओलीले भने, “यो रुचि केवल औपचारिक छैन, यो सार्थक र उद्देश्यपरक छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ