चितवन । नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नदीको बीच भागमा फसेका २२ जनाको गोताखोरको सहायतामा सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
नारायणी नदीमा बाँध बाँधेर बालुवा निकाल्ने क्रममा खटिएका उनीहरु बाँध फुट्दा बिहीबार बेलुका नदीको बीच भागको टापुमा फसेका थिए। २२ जना कामदार नदीको बीच भागमा फसेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले उनीहरुलाई डुंगाको सहायताले उद्धार गरेको हो।
नदीमा फसेका मानिसको उद्धार गरिए पनि नारायणी नदीमा डुबेको एउटा टिपर अझै बाहिर निकाल्न नसकिएको सशस्त्र प्रहरीले बताएको छ ।
