काठमाण्डौं। पछिल्लो समय विपक्षीप्रति आक्रामक अभिव्यक्ति दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पटकपटक सार्वजनिक मन्चबाट उत्तेजक अभिव्यक्तिलाई प्रश्रय नगर्न आयोगले अनुरोध गरेको छ।
आयोगले प्रधानमन्त्री ओलीले 'जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ'भन्ने निर्देशनमूलक अभिव्यक्ति सार्वजनिक रुपमा दिएकोप्रति विज्ञप्तिमा असन्तुष्टि जनाएको छ।
आयोगका अनुसार शान्ति सुरक्षा कायम गर्नु सरकार र सुरक्षा निकायको जिम्मेवारी हो। तर सरकारकै नेतृत्वमा रहेका व्यक्तिले यस्तो अभिव्यक्ति दिनु विधिको शासनको भावना विपरीत भएको आयोगको भनाइ छ। आयोगले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि समूह, व्यक्ति वा पार्टीलाई आफ्नो विचार र प्रदर्शन गर्ने स्वतन्त्रता सुनिश्चित गरिएको उल्लेख गर्दै अरुको विचारप्रति लक्षित उत्तेजनापूर्ण भाषा प्रयोग गर्नु मानव अधिकारका मूल्य र मान्यताको उल्लंघन हुने स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'जुनसुकै व्यक्ति, समूह वा पार्टीलाई अभिव्यक्ति दिने स्वतन्त्रता भए पनि, अरुप्रति लक्षित भई मूठभेड निम्त्याउने गरी अभिव्यक्ति आउनु अमान्य छ।'
कांग्रेसले भन्यो : जिम्मा लिदैनौँ
कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिको जिम्मा नलिने बताएको छ। आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले जिम्मा नलिने बताएको हो।
पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति जिम्मा लिन नसकिने भएको बताएका थिए। यता, कांग्रेस महामन्त्री गगन थापाले पनि प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका हुन्।
