Comments Add Comment

नेपाल संस्कृत विश्वविद्यालयमा पुसदेखि तालाबन्दी, सरोकारवालालाई हाईसञ्चो !

घोराही । नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला खुलाउने सम्बन्धमा आइतबार घोराहीमा सरोकारवालाहरुबीच बृहत् अन्तक्र्रिया भएको छ । अन्तक्र्रियामा नेसंविमा विद्यमान तालाबन्दीलगायतका सबै समस्याहरु वार्ता सम्वादका माध्यमबाट हल गर्न सरोकारवाला सबै पक्ष जिम्मेवारढंगले अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

समाजका संयोजक नीमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरुले राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति हुँदा विश्वासको वातावरण बन्न नसकेको भन्दै छलफल संवाद नगर्ने प्रवृत्तिले समस्या झन् झांगिदै गएको औंल्याएका थिए ।

नेसंविमा विभिन्न समयमा विद्यार्थी र कर्मचारीसमेतले तालाबन्दी गर्ने गरेकोमा पछिल्लो समय २०८१ पुस १२ देखि अनेरास्ववियु क्रान्तिकारीले छ बुँदे माग राखेरतालाबन्दी गरेको छ । कार्यकारीको बैठकबिना राजनीतिक नातावाद र कृपावादको आधारमा गरिएको दैनिक ज्यालादारी कर्मचारीको नियुक्ति खारेजी, विश्वविद्यालयमा भइरहेको आर्थिक चलखेल रोक्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठमा ओपिडि तथा आइपिडिसहितको अस्पताल हुनुपर्ने, केन्द्रीय आयुर्वेद दाङ र विपी विद्यापीठ सोलुखुम्बुमा छात्रावास हुनुपर्ने, मिथिला आयुर्वेद मेडिकल कलेजबाट स्थानान्तरण गरी केन्द्रीय विद्यापीठमा ल्याइएका विद्यार्थीको आन्तरिक शुल्क फिर्ता गर्नुपर्ने र केन्द्रीय विद्यापीठमा भएको पदीय दुरुपयोगको छानबिन हुनुपर्ने माग छन् ।

विद्यार्थीले तालाबन्दी गरेको लामो समय बितिसक्दा पनि वार्ता सम्वाद अघि नबढेको सन्दर्भमा नागरिक समाज दाङले नेसंविका पदाधिकारी, विद्यार्थी संघसंगठन एवं राजनीतिक दल, नागरिक अगुवाहरुबीच अन्तक्र्रिया आयोजना गरिएको नागरिक समाजले बताएको छ । अन्तक्र्रियामा सहभागी अधिकांशले विद्यार्थीका मागहरु जायज भएको भन्दै माग संबोधनमा जिम्मेवारढंगले अघि बढ्न विश्वविद्यालय पदाधिकारीलाई आग्रह गरेका छन् ।

अन्तक्र्रियामा उठेका विषयवस्तुबारे धारणा राख्दै नेसंवि उपकुलपति प्रा.डा धनेश्वर नेपालले विश्वविद्यालय छिर्न नपाउँदै तालाबन्दी भएको भन्दै आफ्नो काम हेरेर गुण र दोषका आधारमा विरोध गर्न आग्रह गर्नुभयो । ‘विगतका कारण समस्या भएको भए पनि हल गर्ने समय दिनुपथ्र्यो’– उपकुलपति नेपालले आफूलाई विश्वास गर्न आग्रह गर्दै ताला खोलेर काम गर्ने वातावरण वनाइदिन आग्रह गर्नुभयो । नेसंविका रजिष्ट्रार माधव अधिकारीले शैक्षिक कार्यक्रम चलाउनुपर्दा विद्यार्थीलाई दिनुपर्ने सुविधा दिन नसक्दा तालाबन्दी हुनेगरेको बताउनुभयो । वार्ताको प्रयास भए पनि सफल हुन नसकेको उहाँको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर नेसंविका समस्या हल गर्न सुझाव दिनुभयो । तालाबन्दी छाडेर वार्ता सम्वादबाट निकास निकाल्नुपर्नेमा उहाँको जोड थियो ।

अन्तक्र्रियामा बोल्ने सबैजसो विद्यार्थी संगठनका प्रतिनिधिले आफ्ना मान्छेको भर्ती केन्द्र बनाउने पहिलेदेखिको काम गराइले नेसंविमा समस्याको चाङ लागेको भन्दै समस्या समाधान गर्न कर्मचारी पदाधिकारी सबै जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए । विश्वविद्यालयको छवि बिग्रदै जाँदा त्यहाँ पढ्न आउने विद्यार्थी संख्या घट्दै गएको, अभ्यास गर्न नपाउँदा विएएमएस पढेकाहरु मर्कामा परेको, आयूर्वेदको स्नातक पढेका १४ ब्याच पूरा हुँदासम्म ओपिडी स्थापना हुन नसकेको, अस्पताल बनाउन नौपटक सहमति भए पनि कार्यान्वयनमा नगएकोलगायतका समस्या उठाएका थिए । नेसंविलाई राजनीति गर्नेभन्दा समस्या समाधानमा केन्द्रित हुन सबैको आग्रह थियो । नेसंविमा तालाबन्दी नगर्न उच्च अदालतले दिएको आदेशको सम्मान गर्नुपर्नेमा सबैको जोड थियो ।

नागरिक समाजका पूर्वसंयोजक केवी मसालले नेपाल संस्कृत विश्वविद्यालय समस्या, चुनौती, सम्भावना विषयमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन योगी, नेकपा एमालेका जिल्ला अध्यक्ष शिवकुमार आचार्य, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य, राजमो जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा प्रतिनिधि पाटन सी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका सेकेटरी ईश्वरीप्रसाद गैरे, विद्यार्थी नेताहरु नेविसंघ अध्यक्ष कुलराज पोख्रेल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष गोविन्द मल्ल, अखिल क्रान्तिकारी नेसंवि सचिव अभयप्रताप चौवे, अखिल छैठौंका तिलक भट्टराई, अखिल समाजवादी खुमन पौडेल, सरिता देवकोटा, डा. सुदीप गौतम, डिल्ली अधिकारी, डा. लोकराज पराजुलीलगायतले धारणा राख्नुभएको थियो । नागरिक समाजका पूर्वसंयोजक चन्द्रराज पन्तको स्वागतबाट शुरु भएको कार्यक्रमको सहजीकरण सुशील गौतम र अनिता पोख्रेलले गर्नुभएको थियो ।

नेसंविका सबै समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न पदाधिकारीलाई सुझाव दिइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ