Comments Add Comment

सहिदको सम्झनामा चित्रकला प्रदर्शनी

काठमाडौँ । ‘सहिद दिवस–२०८१’ का सन्दर्भमा राजधानीमा सहिदका सपना, भावना र आशा चित्रित चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा मङ्गलबार आयोजित ‘राष्ट्रिय चेतना र सहिदको भावना’ शीर्षक चित्रकला प्रदर्शनीको प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले उद्घाटन गर्नुभयो ।

उहाँले सहिदको बलिदानीले देशमा गणतन्त्र आएको बताउँदै गणतन्त्रको अभ्यास भएको सात वर्षमा पनि पुराना ऐन, कानुन संशोधनको चरण रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई समृद्ध, विभेदमुक्त, समतामूलक बनाउने सपना साकार पार्ने कोसिस जारी छ भन्नुभयो  । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपालको संविधान, २०७२ को मूल मर्मलाई आत्मसात् गर्दै देशको निरङ्कुश शासनव्यवस्थाविरुद्ध परिवर्तनका लागि ज्यानको बलिदान गरेका सहिदहरूलाई सिर्जनाको माध्यमबाट सम्झने उद्देश्यले चित्रकला प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

अग्रज कलाकार एवं समीक्षक मदन चित्रकारले कलाकारले सहिदका जीवनमा आधारित कलाकृति बनाउनुपर्ने र यस्ता कामलाई ग्यालरीमा सजाउनुपर्ने बताउनुभयो । उहाँले सहिदका जीवनी र बलिदान झल्कने चित्रकथाका किताब प्रकाशन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रदर्शनीमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, देवेन्द्रकुमार काफ्ले, पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतोलगायत कलाकारका ५४ वटा कलाकृति राखिएका छन्  । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ