पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजलाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन् । शुक्रबार राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशनको उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेकाले त्यसको कल्पना नगर्न सुझाव दिए ।
‘यो १५ गते राजालाई सिंहासनमा राख्छन् अरे । सिंहासन बनाएर राख । देशको राज सिंहासन भनेको गयो । गइसक्यो । अब देशको राज सिंहासनको कल्पना गर्ने कस्तो दिमाग होला,’ उनले भने ।
प्रधानमन्त्री ओली राजा ल्याउने भ्रममा नपर्ने आग्रह गर्दै जनविरोधी र देशद्रोही क्रियाकलाप सह्य नहुने बताए । उनले राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे । सहमति नभए स्वच्छ रूपमा निर्वाचन गरी नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए ।
