सुर्खेत । यार्सा सङ्कलनमा गएका जुम्लाका दुई जनाको मृत्यु भएको छ ।
तातोपानी गाउँपालिका वडा नम्बर ८, टोप्ला गाउँकी २७ वर्षीय कल्पना शाही र गुठिचौर गाउँपालिका वडा नम्बर १, मणी गाउँका ३५ वर्षीय भीमबहादुर बोहोराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कल्पनाको बिहीबार दिउँसो जुम्ला र जाजरकोटको सिमनामा पर्ने सुब्बाकुना पाटनमा चट्याङ लागेर मृत्यु भएको हो । उनी त्यहाँ यार्सा सङ्कलनका लागि पुगेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रमेशबाबु रेग्मीले शाही मृत्यु भएको खबर पश्चात् प्रहरी त्यहाँ जाँदै गरेको बताए ।
‘त्यहाँ निकै टाढा हो, प्रहरी बाटोमा छ,’ उनले भने, ‘शुक्रबार बिहानसम्म शव ल्याउन सकिएला ।’ बोहोराको भने लेक लागेर मृत्यु भएको हो । उनी यार्सा सङ्कलनका डोल्पा पुगेका थिए ।
