काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी काठमाडौँको थापाथलीमा सुलभ र समावेशी स्वास्थ्य सेवा सुरु भएको छ। ‘मायाको पहिचान नेपाल’ र ‘एक एक पाइला सामुदायिक स्वास्थ्य संस्था’ को सहकार्यमा विशेष कार्यक्रम सुरु हुन लागेको हो।
थापाथलीस्थित नेपाल राष्ट्र बैङ्कको कार्यालय अगाडि रहेको ‘एक एक पाइला’ संस्थामा अब एलजीबीटीआई समुदायका व्यक्तिहरूले न्यून शुल्कमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा लिन सक्नेछन्
सेवा सुरु गर्नुअघि मायाको पहिचान नेपाल र एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रबीच छलफल भएको छ। स्वास्थ्य सेवा प्रदान गर्ने मोडालिटीबारे कुराकानी भएको छ।
सामान्य परामर्श शुल्क रु १५० र विशेषज्ञ परामर्श शुल्क रु ३०० मात्र निर्धारण गरिएको छ। साथै, यौन रोग (एसटिडी) उपचार, एचआइभी परीक्षण, यौन स्वास्थ्य स्क्रिनिङ जस्ता सेवाहरू अत्यन्त सुलभ दरमा उपलब्ध हुने 'एक एक पाइला स्वास्थ्य संस्था'की नुमा लिम्बू 'चञ्चला'ले बताइन्।
कार्यक्रम संविधान सभाका सदस्य तथा ‘मायाको पहिचान नेपाल’का कार्यकारी निर्देशक सुनिलबाबु पन्त र लिड नेपालकी कार्यकारी निर्देशक तथा तेस्रोलिंगी मानवअधिकारकर्मी नुमा लिम्बु 'चञ्चला'को सहकार्यमा अघि बढाइएको हो।
