काठमाण्डौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताको छानबिन संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाउने भएको छ। बुधबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता छानबिनका लागि गठित उपसमितिको प्रतिवेदनमा आधारित रहेर भ्रष्टाचारबारे अनुसन्धान गर्न समितिले अख्तियारलाई पत्राचार गर्ने निर्णय गरेको छ।
विमानस्थल निर्माणमा १० अर्ब घोटाला भएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ। विमानस्थलको लागत मूल्य बढाएर अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण बराबरको रकम अनियमितता भएको उपसमितिको निष्कर्ष छ।
समितिमा सांसदहरूले उपसमितिको प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्ययन गर्दै थप अनुसन्धान गर्न लेखा समितिले अख्तियारलाई भनेको छ। निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भने, ‘प्रतिवेदनमा भएका विषयवस्तु हेर्दा १५ वटा मुलभूत प्रश्नहरू अघि सारेको देखिन्छ। यी प्रश्नहरूलाई निर्णयकै रुपमा समावेश गरेर हामीले अख्तियार पठाउने निर्णय गरेका छौँ।’
