भक्तपुर । सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने भएको छ ।
कराँते खेलको विकास तथा नयाँ खेलाडी उत्पादन लागि सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा जेठ ९ र १० गते बागमती प्रदेश व्यापी कराते प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
प्रतियोगितामा प्रदेशका विभिन्न डोजो तथा खेलाडीहरू सहभागी हुने भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामशरण त्वातीले जानकारी दिए ।
उनका अनुसार आगामी जेठ ९ र १० गते सूर्यविनायक नगरपालिका वडा नम्वर ९ को सेराटन बैंक्वेटमा प्रतियोगिता सञ्चालन हुने छ ।
प्रतियोगितामा ५ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले बताएका छन्।
'तौल समूह अनुसार हुने प्रतियोगितामा महिला, पुरुष गरी ५ सय बढी खेलाडी सहभागी हुने आशा छ' संयोजक त्वातीले बताए ।
३५ केजी देखि ६७ प्लस केजी तौल समूहसम्म पुरुष तथा ३५ केजी तौलदेखि ६१ केजी तौल सम्म महिला गरी १५ खेल, यस्तै महिला तथा पुरुष काँटा तथा महिला पुरुष टिम काँटा समेत खेलमा समावेश हुने उनले जानकारी दिए ।
