काठमाडौँ । सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् । बुधबार साँझको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि रिक्त सचिव पदमा सरकारले पौडेललाई बढुवा गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त सचिवमा बढुवाका लागि पौडेलको नाम सिफारिस गरेको थियो ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) र ज्येष्ठता (२० प्रतिशत) का आधारमा हुने बढुवा प्रक्रियामा चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा एक जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सहसचिव पौडेलको नाम सिफारिस भएको स्रोतले बताएको छ ।
