Comments Add Comment

६ जनाले पारे ५ करोड बढी झ्वाम्, विशेष अदालतमा मुद्दा !

काठमाण्डौ । जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुख सहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । पाँच करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपसहित आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू सहित ६ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। कार्यालयका ना.सु. (हाल कार्यालय प्रमुख समेत) रहेका बलीराम प्रसाद कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्मा लिँदै आएको, बचतकर्ताको रकम कुनै अभिलेख नराखी अपचलन गरेको आयोगको दाबी छ ।

जिल्ला अदालत बारामा मुद्दा दायर भई पुर्पक्षका लागि थुनामा रहेको उजुरी परेको थियो। अनुसन्धानका क्रममा बलीराम प्रसादले तत्कालीन कार्यालय प्रमुखहरूसँगको मिलेमतोमा बचतकर्ताको बचत गर्नुपर्ने रकम आपसमा बाँडफाँड गरेको पाइएको अख्तियारको दाबी छ।

बचतकर्ताबाट उठेको बचत रकम साँवा ब्याज गरी ५ करोड ३५ लाख ६४ हजार रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीसँगै जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुखहरू जयलाल प्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साह विरुद्ध पनि भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ।

उनीहरुले हुलाक बचत बैंकको समेत कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा फाँटवाला बलीराम प्रसादसँग मिलेर बचतकर्ताको रकम दुरुपयोग गरी मासेको देखिएको अख्तियारको दाबी छ।

उनीहरूविरुद्ध ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना माग दाबी सहित सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ