झापा । कोशी प्रदेशमा क्षयरोगका सङ्क्रमित पत्ता लगाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधियुक्त एक्स-रे उपकरण प्रयोगमा ल्याइएको छ । यही प्रविधिबाट क्षयरोगका बिरामी पत्ता लगाउन थालिएको हो ।
कोशी प्रादेशिक स्वास्थ्य निर्देशनालय धनकुटाका सम्पर्क व्यक्ति तुलसीप्रसाद गुरागाईंका अनुसार प्रदेशका १० वटा जिल्लामा निःशुल्क स्वास्थ्य शिविरमार्फत एक हजार व्यक्तिको एआई जडित प्रविधिबाट एक्स–रे गर्दा क्षयरोगका एक सय नयाँ सङ्क्रमित पत्ता लागेका हुन् ।
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशलाई एआई जडित अत्याधुनिक एक्स-रे उपकरण उपलब्ध गराएको र त्यही उपकरण आलोपालो पालिकामा पुर्याएर क्षयरोगीको खोजपड्ताल भइरहेको उनले जानकारी दिए ।
सरकारले मुलुकलाई क्षयरोगमुक्त बनाउने अभियानअन्तर्गत पुराना बिरामीको उपचार र नयाँ सङ्क्रमित पत्ता लगाउने कार्यमा जोड दिएको छ । वडास्तरमा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा ६० वर्षमाथिका सबैको एआई जडित एक्स-रेबाट क्षयरोगको जाँच भइरहेको गुरागाईंले बताए । शिविरमा क्षयरोगका बिरामी रहेका घरका १५ वर्षमाथिका सबै र रुखाखोकीलगायत समस्या भएका बिरामीको अनिवार्य परीक्षण गरिन्छ । एआई जडित एक्स–रे प्रयोग गर्न कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले दुई जना दक्ष प्राविधिक रेडियोलोजिष्टलाई उक्त उपकरणसँगै पालिकामा पठाउने गरेको छ ।
एआई जडित एक्सरेबाट परीक्षण गर्दा रोग भए प्रष्ट देखाउने र हुने सम्भावना (शङ्कास्पद सङ्क्रमित) समेत देखाउने भएकाले यो प्रविधि उपयोगी रहेको गुरागाईंले बताए । उनका अनुसार उपकरणले एक दिनमा औसत तीन सय जनाको चेकजाँच गर्न सकिन्छ ।
