काठमाण्डौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन्। साउथह्याम्प्टनको सेन्ट मेरीज स्टेडियममा शनिबारको खेलमा सिटीले धेरै मिहिनेत गरे पनि गोल गर्न सकेन।
चोटपछिको फर्किएका एर्लिङ हालान्डले निराशाजनक प्रदर्शन गरे। साउथह्याम्प्टनले २००७/०८ को सिजनमा डर्बी काउन्टीले बनाएको न्यूनतम ११ अंकको कीर्तिमान पार गर्दै एक अंक जोड्यो। जेरेमी डोकुलाई दोस्रो हाफमा मैदानमा उतारिएपछि खेल केही प्रतिस्पर्धात्मक बन्यो। उनले बर्नार्डो सिल्भालाई मौका सिर्जना गरिदिए जसलाई ज्याक स्टेफेन्सले राम्रो ब्लक गरे।
ओमार मार्मुसले अतिरिक्त समयमा क्रसबारमा प्रहार गरे। गएराति भएको खेल बराबरी हुँदा सिटीले च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका गुमाएको छ। यो बराबरीसँगै सिटीको ३६ खेलमा ६५ अंक भएको छ। सिटी तालिकाको तेस्रो स्थानमा छ। तालिकाको पुछारमा रहेको टोली साउथह्याम्पटन समान ३६ खेलमा १२ अंक छ।
