Comments Add Comment

प्रथम चलचित्र नायिकाबाट गीतकार गीता अधिकारीको 'मेरा कलमका डोबहरू' लोकार्पण

काठामाडौं । सञ्चारकर्मी गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ मंगलबार काठमाडौंमा लोकार्पण गरिएको छ ।  नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा कृति  लोकार्पण गरिएको हो । 
गतबर्ष ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी गीताले जन्मदिनको अवसरमा ‘मेरा कलमका डोबहरू' पाठकमाझ ल्याएकी हुन् ।
हाँस्य कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, विशिष्ट कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, संगीतकार राजु सिंह, नेपाल गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवम् रंगपत्रकार शान्तिप्रिय, गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल लगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गर्दै नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताइन् । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखक अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी गराए । उनले कृतिमा समाविष्ट आलेखले त्यो समयको विभिन्न विषयलाई उथाएको बताएका थिए ।
त्यस्तै, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकालीले गीतालाई आफूले वर्षौं अघिदेखि चिनेको भन्दै उनले लेखकबाट आगामी दिनमा अन्य कृतिको समेत आशा गरेको बताए । यस्तै कलाकार लय संग्रौलाले गीताका कार्यको तारिफ गर्दै गीत लेखनसँगै समाजसेवामा पनि सक्रिय गीता बहुआयामिक व्यक्तित्व रहेको चर्चा गरे । वरिष्ठ गीतकार वान्तुले गीता र आफ्नो जन्मस्थान एउटै भोजपुर भएको प्रंसग निकाल्दै गीत लेखनसँगै उनका अन्य कार्य प्रशंसनीयका साथै अनुकरणीय रहेको बताए ।
सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहेकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान अर्पण गरिएको थियो भने अथितिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।
गीता अधिकारी कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय छिन् । उनका ‘यतै घमाइलो, उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्म छम्म’ जस्ता झण्डै एकदर्जन गीत श्रोता/दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्पादन गरेकी गीताको ‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो कृति हो । 
मिलाप पब्लिकेशनले पाठकमाझ ल्याएको ४७७ पेजको कृतिको मूल्य ९९९ रुपैयाँ छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ