Comments Add Comment

हातमा कालोपट्टी बाँधेर किन उत्रिए विद्यालय कर्मचारी आन्दोलनमा !

काठमाण्डौ । सामुदायिक विद्यालयका कर्मचारीहरूले बैशाख २१ गतेदेखि आन्दोलन सुरु गरेका छन्। हातमा कालोपट्टी बाँधेर सांकेतिक रुपमा आन्दोलनको शुरुवात गरेका हुन् । नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा भएको नौ बुँदे सहमतिमा विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै असन्तुष्ट कर्मचारीहरूको संस्था नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलन सुरु गरेको हो। नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको नेतृत्वमा आन्दोलनको पहिलो दिन आइतबार कर्मचारीहरू हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन्। काठमाडौँको सडकमा २९ दिनसम्म चलेको शिक्षक आन्दोलनमा परिषद् पनि एक साथ सडकमा सहभागी थियो। माघ २० गतेदेखि वैशाख १७ सम्मको आन्दोलनमा सँगै होमिए पनि महासंघले विद्यालय कर्मचारीमा माग सम्वोधनलाई धोका दिएको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो । पहिलो चरणमा सांकेतिक रुपमा आन्दोलन गर्ने परिषदले बताएको छ । परिषद्ले विभिन्न चरण आन्दोलन गर्दै आगामी जेठ ९ र १० गते काठमाडौँमा आन्दोलन गर्ने तालिका सार्वजनिक गरेको छ। शिक्षक र कर्मचारी बीचको विभेद अन्त्य गर्न, हालसम्मका सहमतिहरू कार्यान्वयन गर्न, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गर्न परिषदले माग गरेको छ । त्यसैगरी तलबमान कायम गर्न, विद्यालय कर्मचारीलाई दुर्गम भत्ता उपलब्ध गराउन, छिटोभन्दा छिटो शिक्षा ऐन जारी गर्न र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न नेपाल सरकारसित माग गरेको छ । कर्मचारी परिषदको आन्दोलन परिचालन संयोजक मिश्रा विद्यालय कर्मचारी परिषदले आन्दोलन परिचालन समितिको संयोजक बब्बन मिश्रालाई बनाइएको छ भने दीप खतिवडालाई सहसंयोजक तोकेको छ। १८ गते सम्म्पन्न परिषद बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्नुका साथै आन्दोलन परिचालन समिति निर्माण गरेको हो । अध्यक्ष गंगाराम तिवारीका अनुसार आन्दोलन परिचालन समितिमा भुवन पोखरेल, देवीराम भुसाल, मीनराज डाँगी, देवी शर्मा धिताल, रीना ठकुरी काफ्ले, नारायण प्रसाद यादव, शंकर कुमाल, नरेन्द्र भट्ट, प्रकाश चन्द, खडक खत्री र जीवन क्षेत्री रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ