काठमाण्डौ । नेपाल वाङमय परिषद धनगढी, कैलालीले दस स्रस्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । शनिबार ग्रीनलिफ रेस्टुरेण्ट पुतलीसडक, काठमाण्डौमा आयोजित कृति विमोचन एवम् सम्मान समारोहमा स्रस्टालाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो । २०८१ सालको आरडीप्रभास–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार प्रा.डा. महादेव अवस्थी (बैतडी) लाई, नेपाल वाङ्मय साधना सम्मान प्रा.डा. कपिल लामिछाने (रुपन्देही)लाई पद्मा–रामचन्द्र लघुकथा सम्मान डा.हरिप्रसाद भण्डारी (रुपन्देही)लाई, राधिका–गोपालदत्त लघुकथा सम्मान ध्रुव मधिकर्मी (भक्तपुर)लाई, कर्मयोद्धा सृजना सम्मान–मेघनाथ खनाल 'बन्धु' (झापा)लाई अर्पण गरिएको हो । यी सम्मानमा आरडीप्रभास राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार नगद रू पन्ध्र हजार, सम्मानपत्र र दोसल्ला रहेको छ भन्ने अन्य सम्मानमा नगद रु. दस हजार सहित सम्मानपत्र र दोसल्ला रहेको छ । पद्मा-रामचन्द्र लघुकथा सम्मान प्राप्त गर्ने डा हरिप्रसाद भण्डारीको पुरस्कार तथा सम्मान अर्को कार्यक्रममा अर्पण गरिने आयोजक संस्था नेपाल वाङ्मय परिषदका अध्यक्ष डा पुष्कर भट्टले बताए । यसैगरी परिषदले यसअघि नै घोषणा गरिए पनि अर्पण नगरिएको २०८० सालको पुरस्कार तथा सम्मान पनि प्रदान गरेको छ । नेपाल वाङ्मय परिषदद्वारा हरेक वर्ष प्रदान गरिने पद्मा-रामचन्द्र लघुकथा सम्मान नवराज रिजाललाई, नेपाल वाङमय साधना सम्मान गोपाल अश्कलाई, कर्मयोद्धा सृजना सम्मान कवि राजेन्द्र तारकिणीलाई प्रदान गरिएको छ । यी सम्मान तथा पुरस्कार रू दस हजार नगदसहित प्रमाण-पत्र एवम् दोसल्ला रहेको छ । आरडीप्रभास-राज्यलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट आरम्भ गरिएको हो । लेखक एवम् साहित्यकार आरडीप्रभास चटौत एवम् राज्यलक्ष्मी चतौट दम्पत्तिले यो पुरस्कारको व्यवस्था गरेका हुन् । कवि एवम् गजलकार भुवन बोहोरा 'निस्तेज'ले सञ्चालन गरेको सम्मान समारोहमा सभाध्यक्ष एवम् नेपाल वाङमय परिषदका अध्यक्ष डा पुष्कर भट्टले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वमाथि चर्चा परिचर्चा गरेका थिए । आरडीप्रभास-राज्यलक्ष्मी राष्ट्रिय प्रतिभा पुरष्कार प्राप्त गरेका प्राडा महादेव अवस्थीले आफ्नो चर्चा-परिचर्चामा भट्टद्वारा प्रेषित त्रुटि सच्याएका थिए । प्राध्यापक अवस्थीले आफ्नो पिएचडी 'महाकवि देवकोटाको महाकाव्यकारिता' नभएर 'महाकवि देवकोटाको खण्डकाव्यकारिता' भएको सुनाए । प्रमुख अतिथि साहित्यकार, सौन्दर्य चिन्तक एवम् पूर्वमन्त्री शान्ता मानवीले पुरस्कार एवम् सम्मान प्रदान गरिन् । प्रमुख अतिथी मानवीले राजनीतिले साहित्यलाई दिशानिर्देश गर्ने नभई साहित्यले राजनीतिलाई दिशानिर्देश गर्नुपर्नेमा जोड दिईन् । वर्तमान समयमा राजनीतिले साहित्यलाई डोर्याईरहेको औल्याउँदै मानवीले यस्तो अवस्थाले समाज ठीक ठाउँमा पुग्न नसक्नेमा चिन्ता गरिन् ।
कार्यक्रममा सत्या अधिकारी, मन्दिरा चापागाईं, मनिषकुमार शर्माले आ-आफ्ना लघुकथा पस्किएका थिए भने कवि एवम् समालोचक सुवासचन्द्र भण्डारी र सम्मानित राजेन्द्र भट्ट 'तारकिणी'ले कविता सुनाएका थिए ।
सम्मानित एवम् पुरस्कृत व्यक्तित्वले मन्तव्यका क्रममा सम्मानित एवम् पुरस्कृत हुँदा खुशी लागेको बताउँदै लेखनमा थप अभिभारा थपिएको औंल्याए ।
