काठमाण्डौं। तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्रसहितका नेताको रिहाइका लागि जारी रिले अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यबद्धता जनाएका छन्।
रिले अनसन प्रति समर्थन जनाउन संयोजक सुवेदी शनिबार जावलाखेल पुगेका हुन्। रिले अनसनका सहभागीलाई सुवेदीले भेटेर आस्थाका बन्दीहरूको रिहाइ हुनुपर्दछ, मानव अधिकारको सम्मान र प्रत्याभूति हुनुपर्दछ भन्दै ऐक्यबद्धता जनाए । आस्थाका बन्दी रिहाइ गर्नुपर्ने, मानव अधिकारको सम्मान गर्नुपर्ने, हिन्दु अधिराज्य कायम गर्नुपर्ने, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने लगायतका अनसनकारीहरूको माग छ।
यसैगरी अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जन प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ । रिले अनसन शनिबार दोस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।
