काठमाडौं । गोकर्णेश्वर साहित्य पुरस्कार प्रा.डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिने भएको छ । भाषा, साहित्य, कला, संस्कृति लगायतका माध्यमबाट राष्ट्रलाई योगदान पुर्याएकोमा सम्मान स्वरुप प्रा. डा. त्रिपाठी तथा चालिसेलाई गोकर्णेश्वर साहित्य पुरस्कार प्रदान गरिने भएको हो ।
साहित्यकार द्वय गोविन्दप्रसाद घिमिरे ’वेदमणि’, बाजुराम पौडेलको चयन समितिको सिफारिसमा स्रस्टा द्वेयलाई पुरस्कार घोषणा गरिएको हो । दुबै स्रस्टालाई जनही १ लाख नगदसहित पुरस्कार प्रदान गरिने आयोजक संस्था गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।
नगर साहित्य पुरस्कार तथा सम्मान चैत् २२ गते, शुक्रवार अपराह्न गोकर्णेश्वर- ८ बेसीगाउँमा एक विशेष कार्यक्रम आयोजना गरि प्रदान गरिने नगरप्रमुख दीपक रिसालले बताए । उनले भने- ' पुरस्कृत साहित्यकारलाई दोसल्ला, अभिनन्दन पत्र तथा फूलमालाले सुसज्जित गर्दै जनही १ लाख रुपैयाँको नगद पुरस्कार अर्पण गर्ने हाम्रो कार्यक्रम छ ।'
समारोहमा नगरपालिकाको आर्थिक अनुदानमा प्रकाशित तीन बृहत् ग्रन्थहरूको लोकार्पण समेत हुने जनाइएको छ ।
अघिल्लो साल प्रा.डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।
नगरपालिकाले शिक्षा–स्वास्थ्य, कला–साहित्य–संस्कृति, पूर्वाधार विकास तथा खेलकुद लगायत विभिन्न क्षेत्रमा गर्दै आएको योगदानका लागि नागरिक स्तरबाट मात्र नभई देश विदेशबाट पनि प्रशंसा पाउदै आएको नगर प्रमुख दीपक कुमार रिसालले बताए ।
प्रा डा वासुदेव त्रिपाठी नेपाली साहित्यमा पहिलो पिएचडी गर्ने व्यक्तित्व हुन् भने त्रिपाठीसँगै सम्मानित हुने विजय चालिसे गोकर्णेश्वर नगरपालिका, आरुबारीका स्थायी बासिन्दा समेत हुन् । विजय चालिसे प्रगतिवादी साहित्यकार रमेश विकलका सुपुत्र समेत हुन् । यसैवर्ष साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ विजय चालिसेले प्राप्त गरेका थिए । चालिसेको पछिल्लो समय ‘युगसन्धि’ उपन्यास प्रकाशित छ ।
