Comments Add Comment

उपभोक्तालाई अशुद्ध पानी: स्वास्थ्यमाथि पानी उद्योगीको खेलवाड !

दाङ । पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको अनुगमनको क्रममा यस्तो पाईएको हो ।

डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको हो । प्रयोगशाला नै नभएको भेटिएपछि तत्काल प्रयोगशाला सञ्चालनमा ल्याउन निर्देशन समेत गरिएको डिभिजनका सूचना अधिकारी विवेककुमार सुवेदीले बताए । “हामीले दाङका पानी उत्पादन तथा प्रशोधन उद्योगमा अनुगमन गर्यौँ”, उनले भने, “ती उद्योगमा प्रयोगशाला नभएपछि तत्काल प्रयोगशाला सञ्चालन गरेर कार्यालयमा जानकारी दिन भनेका छौँ ।”

प्रयोगशाला नहुँदा उपभोक्तासम्म कस्तो पानी गएको छ, भन्ने कुरा थाहा हुँदैन । जसले गर्दा बेला–बेलामा उपभोक्तामा अशुद्ध पानी समेत जाने गरेको भन्दै यसलाई तत्काल सञ्चालनमा ल्याउन भनेको सूचना अधिकारी सुवेदीले बताए । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ अनुसार प्रयोगशालाको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । प्रयोगशाला नराखेको सन्दर्भमा प्रत्येक महिनामा एक पटक प्रशोधित तथा अप्रशोधित पानीको भौतिक तथा रसायनिक विश्लेषण मान्यताप्राप्त प्रयोगशालाबाट गराउनुपर्ने उल्लेख छ ।

पानी उद्योगहरूले निर्देशिकाको ख्याल नगरेको उनको भनाइ छ । उद्योगले ‘आरो मेसिन’बाट पानी प्रशोधन गरेर सिधै पठाउने गरेका छन् । मेसिनमा केही समस्या आएको छ कि, पानी शुद्ध छ की छैन भनेर प्रयोगशालामा परीक्षण गरेर मात्र पठाउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन । 

दाङमा मात्र हाल १२ वटा पानी उद्योग सञ्चालनमा छन् । तीमध्ये उपभोक्तासम्म दूषित पानी गएपछि तुलसीपुर–९ स्थित भद्रकाली ड्रिङ्किङ वाटर (कुबेर जल)ले भने प्रयोगशाला सञ्चालनमा ल्याएको सूचना अधिकारी सुवेदीले बताए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले सबै पानी उद्योगलाई प्रयोगशालाको व्यवस्था गर्न लिखित निर्देशन गरिएको बताएको छ । निर्देशनको पालना नगरिए कडा कारवाही गरिने समेत डिभिजन कार्यालयले बताएको छ ।

जिल्लामा २० पानी उद्योग दर्ता भएपनि हाल १२ वटा मात्रै सञ्चालनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ