काठमाण्डौं। बीपी राजमार्गमा आज (शनिबार)देखि राति यातायात बन्द गरिने भएको छ। काभ्रे, सिन्धुली र रामेछापको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले १५ दिन राति १२स्३० देखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।
मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।
उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ ।
गत साल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा भने सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आवतजावत गर्छन् ।
