Comments Add Comment

आफन्तबाटै सुरक्षित छैनन् महिला तथा बालबालिका

काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति हुने गरेका छन् । नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१÷८२ फागुन महिनासम्म दुई हजार ४७ मुद्दा दर्ता भएका छन् ।

नातासम्बन्धको आधारमा अभियुक्तको विश्लेषणले महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ । त्यसमा ९१ दशमलव १६ प्रतिशत चिनजानका अभियुक्त रहेका छन् । प्रहरीमा दर्ता भएका दुई हजार ४७ मुद्दामा दुई हजार दुई सय ६३ अभियुक्त रहेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । घर मालिक, केटा साथीलगायत सामान्य चिनजानका एक हजार दुई सय छ, छिमेकी पाँच सय ७३ र पारिवारिक नाताका दुई सय ६५ अभियुक्त रहेका छन् । यस्तै, अपरिचित दुई सय र शिक्षक १९ जना अभियुक्त छन् ।

पारिवारिक नाताका अभियुक्तमा पीडितको बुवा, श्रीमान्, काका, मामा, ठूलोबुवा, दाजुभाई, मामाको छोरा, हजुरबुवा, भिनाजु, भतिज र छोरा, देवर, जेठाजु, ससुरा र ससुरा पर्ने सबैखाले सम्बन्धका अभियुक्त रहेका प्रहरीको तथ्यांकले देखाउँछ । यस्ता अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीले सबैलाई आग्रह गरेको छ । प्रहरी नायव महानिरीक्षक आचार्यले महिला तथा बालबालिकामा हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि सानैदेखि बालबालिकालाई यौन हिंसासम्बन्धी शिक्षा दिएर सचेत गराउनु अत्यावश्यक भएको बताउनुभयो । यौनजन्य हिंसा न्यूनीकरणका लागि परिवार, विद्यालय, समाज सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘बालबालिकालाई सकेसम्म परिवारको निगरानीमा राख्नुपर्छ । उनीहरूलाई ‘ब्याड टच’ र ‘गुड टच’ (राम्रो र नराम्रो छुवाइ) का बारेमा बुझाउनुपर्दछ । बालबालिकामा यो नराम्रो हो, गलत हो भन्ने थाहा हुनुपर्छ’– उहाँले भन्नुभयो– ‘अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन सबैको सहयोग आवश्यक छ ।’

१८ बर्षीय किशोरले गरे बालिकामाथि जबरजस्तीकरणी

बंगलाचुली । बंगलाचुली गाउँपालिकामा नौ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

गत माघ २४ गते ती बालिकालाई १८ वर्षीय युवकले बलात्कार गरेको घटना सार्वजनिक भएको हो । आमा दिवंगत भइसकेकी र बुवा रोजगारीका लागि भारतमा गएका बेला आफन्तको घरमा पुगेकी बालिकालाई हाडनाता करणी भएको पीडित परिवारले बताएका छन् । पेट दुख्यो भनी रून थालेपछि उनलाई उपचारका लागि चैत २ गते घोराहीको बुद्ध हस्पिटलमा लगिएको थियो । जाँचका क्रममा चिकित्सकले उनीमाथि बलात्कार भएको र यौनाङ्गमा घाउ रहेको बताएपछि पीडितले आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।

छोरी बलात्कृत भएको खबर पाएपछि घर फर्किएका बुवा न्यायका लागि वडा कार्यालय गएका थिए । वडाध्यक्षको समन्वयमा आरोपितका बुवा र पीडितका अभिभावकबीच चैत १३ गते मिलापत्रको कागज गरिएको थियो । जिप्रका दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले घटनाबारे प्रहरीलाई जानकारी नभएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ