Comments Add Comment

साना किसानलाई उद्यमी बनाउन सहकारीमार्फत कर्जा

देउखुरी । बाख्रा पालन व्यवसाय छ तर लगानी छैन । जसले गर्दा बाख्राको संख्या बढाउन सकिएको छैन । यस्ता समस्या भोगिरहेका दाङका उद्यमी महिला किसानलाई सहकारीमार्फत कर्जा प्रवाह गरिएको छ ।

अब सहकारीमार्फत साना किसानलाई लगानी गरिने छ । साना किसानहरू कृषि तथा पशुपालन व्यवसायलाई विस्तार गर्न चाहन्छन् तर पूँजी अभावका कारण उनीहरूको प्रयास सीमित बन्दै आएको थियो । बैंकसम्म पुग्न नसक्ने, धितो राख्न जमिन नभएका किसानहरूका लागि सहकारी संस्थामार्फत कर्जा प्रवाहको व्यवस्था हुन थालेपछि उनीहरू उत्साहित भएका छन् । लमही नगरपालिका–७ स्थित दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुई करोडको कर्जा प्राप्त गरेको छ । करिब ३० जना उद्यमी महिला किसानलाई पाँचदेखि १५ लाखसम्म लगानी गर्ने योजना रहेको सहकारीका अध्यक्ष पुनम घर्तीले बताउनुभयो । ‘पहिले सहकारीबाट ठूलो लगानी गर्न सम्भव थिएन तर हेफर प्रोजेक्ट नेपालको पहलमा राष्ट्रिय सहकारी बैंकले कर्जा लगानी गरेपछि व्यवसाय विस्तार सहज हुने भयो’– उहाँले भन्नुभयो– ‘सानोतिनो व्यवसाय गरेकाहरुलाई अब उद्यमी बन्ने बाटो खुल्यो ।’

जिल्लाका तीनवटा सहकारी संस्थालाई साढे चार करोडको चेक हस्तान्तरण गरिएको हो । निलकमल सामाजिक उद्यमी महिला सहकारी लमही नगरपालिका–१ लाई एक करोड ५० लाख, ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था घोराहीलाई कर्जा प्रवाहका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । महिला तथा साना किसानहरूको वित्तीय पहुँचलाई सहज बनाउने, आयबृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने संकल्प गरिएको हेफर नेपालका कार्यक्रम निर्देशक दुर्गाबहादुर केसीले बताउनुभयो । ‘समूह हँुदै सहकारीसम्म आइपुग्नुभएका महिला किसानहरुलाई आर्थिकरुपमा सशक्त बनाउन लगानी सुनिश्चित गरिएको छ’– उहाँले भन्नुभयो– ‘वित्तीय पहुँचले आर्थिक सशक्तीकरण बनाउँदा सबैखाले समस्याहरु समाधान हुँदै जाने देखिएकाले यही क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको छ ।’

घोराहीमा आइतबार एक कार्यक्रमबीच सामाजिक उद्यमी महिला सहकारी संस्थाहरुलाई व्यावसायिक कर्जा चेक हस्तान्तरण गरिएको हो । हेफर नेपालका कार्यक्रम निर्देशक दुर्गाबहादुर केसीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चेक हस्तान्तरण गरिएको हो । उपाध्यक्ष चौधरीले उद्यमशीलताको विकास गर्न वास्तविक किसानमा कार्यक्रम पुगेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका सदस्य, हेफर साझेदार संस्था तथा सामाजिक उद्यमी महिला सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

हेफर प्रोजेक्ट नेपालका व्यवसाय विकास तथा वित्तीय पहुँच प्रमुख प्रकाश कटुवालले साना व्यवसायहरूलाई सरल कर्जा सुविधा उपलब्ध गराएमा किसानहरूले व्यावसायिकरूपमा आत्मनिर्भर बन्न सक्ने धारणा राख्नुभयो । राष्ट्रिय सहकारी बैंकका कर्जा विभाग प्रमुख मोहनबहादुर कार्कीले उत्पादन लागत घटाउन ब्याज अनुदान आवश्यक रहेको बताउनुभयो ।

बैंक सञ्चालक समितिका सदस्य विजया धितालले सहकारीसँगको कारोवार सहज भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आस्मानी चौधरी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला योगी, पत्रकार दुर्गालाल केसीलगायतले साना किसानहरूलाई वित्तीय पहुँचमा पु¥याउन जरुरी रहेको बताउनुभयो । प्रोजेक्टका क्षेत्रीय प्रमुख प्रकाश केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वरिष्ठ कार्यक्रम अधिकृत महेशकुमार आचार्यले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ