Comments Add Comment

आफूले घुस खाएको प्रमाणित गर्न माधव नेपालको चुनौती

काठमाण्डौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले घुस खाएको प्रमाणित गर्न चुनौती दिएका छन्।

शुक्रवार काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरसंवादमा बोल्दै अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताए।

उनले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौती दिए। उनले अन्याय गर्नेहरूको पतन हुने उल्लेख गर्दै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे।

नेपालले भने, ‘नबिराउनु, नडराउनु। बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन। मान्छेको मनोबल गिराउने, तनावयुक्त बनाइदिने र व्यक्तित्व सिध्याउने धेरै ठूलो अपराधी हुन्छ तर अन्त्यमा फेरि सत्यको जित हुन्छ। असत्यको हार हुन्छ। त्यसकारण उच्च मनोबलका साथ अगाडि बढ्न आवश्यक छ। मेरो जीवनका कुनैपनि समयमा घुस खाएको प्रमाणित गरेर देखाउनु होस्। म चुनौती दिन्छु।’

अध्यक्ष नेपालले सुदूरपश्चिमका कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा समेत संगठन निर्माणमा तीव्रता दिन तल्लो कमिटीलाई निर्देशन दिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ