Comments Add Comment

काँग्रेस महामन्त्री थापाले मागे गृहमन्त्रीको राजीनामा

धरान । कांग्रेस महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा हुनु पर्ने बताएका छन् । भिजिट भिसा प्रकरणबारे मुख खोलेका महामन्त्री थापाले सिधा गृहमन्त्रीको राजीनामा आउनुपर्ने नभएपनि घुमाउरो तरिकाले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गर्नुपर्ने आसय व्यक्त गरेका छन्।

कांग्रेस महामन्त्री थापाले अनुसन्धानलाई सहयोग गर्न र दोषीलाई कानूनी कारबाही गर्न आग्रह गरेका छन् ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई दबाबमुक्त र निष्पक्ष रूपमा अघि बढाउन आवश्यक रहेको समेत बताएका छन् । उनले अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने बताए ।

नेपाली कांग्रेसको धरान उपमहानगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ ।’


महामन्त्री थापाले भिजिट भिसाको नाममा संगठित जालो देखिएको भन्दै भिजिट भिसा प्रकरणमा अनुसन्धानमा अलमल गर्न नहुनेमा समेत जोड दिएका हुन् । ‘यो संगठित जालो र अपराधमा संलग्न देखिएका जो सुकै पनि दोषी दण्डित हुनुपर्छ । यससँगै भिजिट भिसाको नाममा हुने गरेको ठगीको धन्दा र यसको 'नेक्सस' सधैँलाई बन्द गर्न तथा यो नाममा आम नागरिकले भोग्नुपरेको सास्ति र शोषणको अन्त्य गर्न कानूनी र प्रशासनिक सुधार तत्काल गर्नु आवश्यक छ’, उनले प्रस्ट पारे ।


राज्यका जिम्मेवार निकायमा रहेका अधिकारी, मन्त्री एवम् सरकारी निकायहरुबाट सयौं हजारौं नागरिक ठगिनु र राज्यबाटै शोषणमा पर्नु जो कसैको लागि सह्य नहुने बताउँदै काँग्रेस महामन्त्री थापाले यो घटनाले सबैलाई स्तब्ध बनाएको बताए । राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यस्ता  गैरकानूनी र अमानवीय हर्कतहरू बन्द गर्न राज्यका निकाय सकृय हुनुपर्नेमा उनले जोड दिए ।


‘यस्तो कुकृत्यमा संलग्न जोसुकै होस्, जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारवाहीको दायरामा ल्याउनैपर्छ । कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन, उम्कन दिनुहुँदैन’, थापाले भने । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख लगायतमाथि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अघि बढाएको छानबीन शक्तिको दबाबमा रोकिनु नहुनेमा उनले जोड दिए ।


‘कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर भिडको दबाव वा प्रभावमा नपरी निष्पक्ष ढङ्गले अख्तियारले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । कुनै अलमलमा नपरिकन घटनाकि गहिराइसम्म पुग्नुपर्छ । जो जो परोस् जहाँ सम्म पुगोस् यसका जरा, हाँगा-बिंगा सबै खोज्नुपर्छ’, उनले भने ।

विगतदेखि नै मन्त्री लेखक आफूले पाएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आए पनि अहिले भिजिट भिसा प्रकरणमै विवाद देखिएकाले अनुसन्धानलाई सघाउनु वान्छनीय हुने थापाको तर्क छ । ‘अहिले मन्त्री लेखकमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो । तर हामीलाई थाहा छ – कानुनी राज्यमा कसैको विश्वास वा आग्रह भन्दा माथि तथ्य र प्रमाण हुन्छ,’ थापाले भने, ‘भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने, अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ ।’

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भिजिट भिसा प्रकरणमा अनुसन्धानमा अलमल नहोस् भन्दै यो संगठित जालो र अपराधमा संलग्न देखिएका दोषीलाई जो सुकै भए पनि दण्डित गर्नुपर्ने प्रस्ट गरे । यता नेपाली काग्रेँसले भने गृहमन्त्री लेखक निर्दोष रहेको र राजीनामा दिन आवश्य नभएको दाबी गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ