चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । अस्पतालले उपकरण जडान गरी चिकित्सक एवम् प्राविधिकलाई आवश्यक तालिम समेत दिएको छ ।
अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’ सेवा प्रारम्भ गरेर ९० जनाभन्दा बढीको परीक्षण समेत गरिएको जानकारी दिए । विगतमा परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो ।
रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने बाध्यता थियो ।
नेपालमा बर्षेनी कति जनालाई रक्त क्यान्सर हुन्छ भन्ने यकिन तथ्याङ्क छैन ।
फ्लोसाइटोमेट्री रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । प्रमुख डा. पाण्डेले भने, ‘रक्त क्यान्सरको प्रकार पत्ता लगाउन गरिने परीक्षण हो । ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ ।’ एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाइएकामा उहाँहरु तालिम लिएर आएसँगै यहाँ परीक्षण सुरु गरिएको जनाइएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन उपकरण जडान गरेर एवम् जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताए।
नेपालमै परीक्षण हुने भएसँगै बिरामीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलाई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ ।
