काठमाडौं । नेकपा कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्रविक्रम चन्द 'विप्लव'ले दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवाद मात्र भएको ठोकुवा गरेका छन् । समाजवादी मोर्चा नेपालद्वारा मंगलबार काठमाडौंको प्रज्ञाभवनमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
संयोजक नेत्रविक्रम चन्द 'विप्लव'ले वर्तमान राजनीतिक संकटको निर्विकल्प निकास समाजवाद नै रहेको ठोकुवा गर्दै भने- ‘यो देशलाई दलाल पुँजीवादीको हातमा राखेर हामी चुप लागेर बस्न सक्दैनौं । यो देशलाई विदेशीहरुको इसारामा उठ् भन्दा उठ् बस् भन्दा बस् भन्ने मान्छेहरुको जिम्मा लगाएर हामी बस्नेवाला छैनौं । हामी यो देशको माटोमा उभिएर, देशको पहाडमा उभिएर गर्वका साथ भन्छौ । इतिहास नयाँ तरिकाले पुननिर्माण गर्न बाँकी छ । हामीले पञ्चायत ढाल्यौं हामीले गोलीले उडायौं, हामी गोलीले उड्यौं, हामी सबै पचाएर आएका मान्छे हौं । दलाल पुँजीवादको झटारोबाट हामी तर्सिन जरुरी छैन् । दलाल पुँजीवादको रजाईबाट हामी तर्सिन जरुरी छैन । दलाल पुँजीवादबाट साँच्चै देशलाई शान्ति दिने हो, स्थिरता दिने हो, स्वाधिनता दिने हो भने यसको निकास भनेको समाजवाद हो । आज यदि वैज्ञानिक समाजवाद सम्भव छैन् भने पनि त्यसमा हाम्रो सहमति बन्न सक्दैन भने समाजवादी पार्टीको बीचमा समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् देशलाई अगाडि लैजान जरुरी छ ।’
संयोजक विप्लवले नेपालको सरकार नेपाल राज्यको र जनताको बन्न नसकेको बताए । उनले नेपालको गणतन्त्र पनि जनताको गणतन्त्र बन्न नसकेको भन्दै नेपालको सरकार र नेपालको राज्यलाई जनताको सरकार र जनताको राज्यमा बदल्न आफूहरू लागिरहेको बताए । उनले भने- ‘सरकार हेरफेर होला, नहोला । त्यसमा हाम्रो धेरै चिन्ताको कुरा छैन । हामीलाई चिन्ता के छ भने यो सरकार नेपालको सरकार बन्न जरुरी छ । नेपालको सरकार, नेपालको राज्य, जनताको राज्य बन्न सकेको छैन । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेको छैन । यसलाई जनताको गणतन्त्र र जनताको राज्यमा बदल्ने सपना हामीले देख्नुपर्छ । त्यो क्षमता हामीसँग छ । त्यो हिसाबले समाजवादी मोर्चाले काम गर्ने छ।’
यसैगरी, संयोजक विप्लवले देशलाई दलालहरुको हातमा राखेर आफूहरू चुप लागेर नबस्ने बताउँदै देशलाई विदेशीहरुको इसारामा उठ् भन्दा उठ् र बस् भन्दा बस् गर्ने मान्छेहरूको जिम्मा लगाएर आफूहरू बस्न नसक्ने बताए । उनले अहिलेको अर्थतन्त्र देशको सुदृढ र सन्तुलित हुन नसकिरहेको, नागरिकहरुको जीवनपनि निकै कष्टकर भएको र देशमा उत्पादनको एकदमै ठूलो खडेरी परेको समेत ठोकुवा गरे ।
