काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा राखिएको छ । ६ पटक हेर्न नमिल्ने भएको उक्त रिट मंगलबारदेखि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको छ ।
मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरेकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। न्यायाधीशहरूले आजै सक्नेगरी बहस छोट्याउन आग्रह गरे पनि आज लामिछानेका तर्फबाट मात्रै कानुनी व्यवसायीहरुले बहस गर्न भ्याएका हुन् ।
बुधबार पूर्वडीआईजी छविलाल जोशी, पीडितको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस हुनेछ। उक्त बन्दीप्रत्यक्षीकरण निवेदनसँगै लामिछाने र पूर्वडीआईजी जोशीको तर्फबाट उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिट पनि लगाउमा राखेर हेरिएको छ।
