Comments Add Comment

कल्याणकारी कोषको रकमबाट आत्मारामकै कल्याण, सवा दुई करोडले गर्‍यो यस्तो !

काठमाडौं । सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा उक्त परिणामको रकम हिनामिनामा थापा दोषी देखिएका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अदालतमा सैनिक ऐन अन्तर्गत मुद्दा दर्ता गरिएपछि आइतबार सो निर्णय आएको हो। कोषको रकम हिनामिना प्रकरणमा संलग्न अवकास प्राप्त दुई सैनिक र बहालवाला दुई अधिकृत, लगायत केहीमाथि अनुसन्धान भइरहेको स्रोतले बताएको छ। सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखी आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वाएरी) अघि बढिरहेको स्रोतले बताएको छ।

प्रारम्भिक छानबिनमा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल प्रक्रिया सुरु गरिएको हो । सैनिक ऐनले बहालवाला सैनिकमाथि सेनाभित्रै कारबाही गर्ने व्यवस्था गरेकाले उनीहरुलाई सेना मातहत राखिएको हो। तर, कानूनी कारबाहीको दायरामा पर्ने दुईजना अवकास प्राप्त सैनिकमाथि भने प्रहरीले अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानपछि पूर्व जमदार थापासहित एक अन्य अधिकारीमाथि पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। यद्यपि, अर्का अवकाशप्राप्त अधिकारी हाल अमेरिका पुगेको खुलेको छ। चारैजना सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा मिलेमतोमा सवा २ करोड रुपैयाँ हिनामिना गरिएको आरोप छ।

नेपाली सेनाले आन्तरिक छानबिनको क्रममा आरोप पुष्टि भएपछि सम्बन्धित निकायलाई थप कारबाहीका लागि पठाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ