काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय गराएका थिए, कीर्तिपुर क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान ३०० दिनमा पूरा हुन्छ।
प्रधानमन्त्रीको बाचाअनुसार काम भएको भए आगामी दुई महिनाभित्रमा काम सकिनुपथ्र्यो। तर सोही काम निर्धारित मितिमा नसकिने भएको छ। जुन कुरा प्रधानमन्त्री आफैले स्वीकारेका छन्। उनले प्रतिबद्धताअनुसार काम नभएको भन्दै सोमबार सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर ओलीले किन समयमै काम नसकेको भन्दै स्पष्टीकरण लिएका छन्।
जवाफमा उनीहरुले त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नु परेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समय सीमामा काम सम्पन्न गर्न नसकेको बताएका थिए। प्रधानमन्त्री ओलीले आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुने गरी काम गर्नुपर्छ भन्ने सरकारको प्राथमिकता रहेको बताए । थपिएको दुई महिनामा काम पूरा नभए सरकारलाई सह्य नहुने समेत उनले बताए ।
असारको अन्तिम सातासम्म कीर्तिपुरमा क्रिकेट रङ्गशाला पाउनेमा ओलीले विश्वास व्यक्त गरे । ओली सरकारले बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई तीन सय दिनभित्र फ्लडलाइट सहितको रङ्गशाला बनाउने निर्णय गरेको थियो। यही वैशाख २४ गते तीन सय दिन पुग्दै छ भने काम सकिएको छैन।
के के बन्यो त?
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभत्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लड लाइट जडान गर्ने घोषणा गर्नुभएको थियो । उक्त ३०० दिन यही वैशाख २४ गते सकिँदैछ।
ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो। प्रधानमन्त्री ओलीले कुन लापर्वाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीयरुपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न कडा निर्देशन दिए।
प्याराफिटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो। प्याराफिटका लागि रु ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो।
