काठमाण्डौ । नेपाली राष्ट्रिय टिमको अन्डर–१३ फुटबल खेलाडी दिपेश गुरुङलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहायता प्रदान गरेको छ । लमजुङको क्व्होलासोँथार गाउँपालिका–३, फुल्म्रोका दिपेश गुरुङको शैक्षिक तथा खेल प्रशिक्षणका लागि समितिले आर्थिक सहायता गरेको हो ।
राष्ट्रिय टिममा समावेश हुनुअघि सशस्त्र प्रहरी बल (एपिएफ) को अन्डर–१३ फुटवल टिमबाट खेलयात्रा अघि बढाएका गुरुङलाई लमजुङ सेवा समिति हङकङले ७० हजार र सोही समितिको जिल्लास्थित समन्वय समितिबाट २० हजार गरी ९० हजार रुपियाँ आर्थिक सहयोग गरिएको हो ।
लमजुङ सेवा समिति हङकङ अन्तर्गत खेलकुद समितिका संयोजक सन्तोष गुरुङ र समन्वय समिति लमजुङको अध्यक्ष मीना गुरुङलगायतले खेलाडी गुरुङ र आमा डिलकाशी गुरुङले रकम हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय टिमका लागि एपिएफ क्लबमा आबद्ध गुरुङ सशस्त्र प्रहरी विद्यालयमा अध्ययन गर्दै फुटबल प्रशिक्षण लिँदैं आएका छन् । भर्खरै एसइई परीक्षा दिएका गुरुङले एपिएफबाट अन्डर–१३ का थुप्रै खेलहरूमा सहभागिता जनाएका छन् ।
लमजुङ सेवा समिति हङकङले जिल्लाको स्वास्थ्य, विपद, खेलकुद र शिक्षाको क्षेत्रमा सहयोग गर्दैआएको छ । समितिले विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका लागि ४४ लाखको अक्षयकोष स्थापना गरेको छ ।
कोषमा रहेको रकमको व्याजबाट समितिले समाजिक सेवामा कामहरू गर्दैआएको छ । समितिले जिल्लामा विभिन्न क्षेत्रमा सहयोगका लागि स्थापित अक्षयकोषलाई एक करोेड पुर्याउने लक्ष्य लिएको अध्यक्ष मीना गुरुङले बताईन् ।
